मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल ३–३ गोलसहित बराबरीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गर्नुभएको जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गर्नुभएको कर्मचारीको टीम बराबरीमा टुंगिएको हो । दशरथ रंगशालामा आज सम्पन्न खेलमा सुरुमा कर्मचारीको टीम हावी भएको थियो । खेलको सुरुवाती चरणमै कर्मचारीका तर्फबाट सीमन केसीले पहिलो गोल गरेर अग्रता दिलाउनु भएको थियो । त्यसको केही समयपछि जनप्रतिनिधिका तर्फका खेलाडीले डी एरिया भित्रै हेण्ड गरेपछि कर्मचारीकै तर्फबाट सुन्दर हमालले पेनाल्टीको भरपुर सदुपयोग गर्दै गोलमा परिणत गरेपछि कर्मचारीको टीमले दुई गोलको अग्रता लिएको थियो । खेलको पहिलो हाफ अघि मैदान प्रवेश गर्नुभएका वडा–६ का अध्यक्ष दीपेन्द्र लामाले जनप्रतिनिधिका तर्फबाट सुरुवाती गोल गर्नुभएको थियो ।
त्यसपछि लगत्तै वडा–३ का सदस्य प्रेम थापाले जनप्रतिनिधिका लागि दोस्रो गोल गरेपछि खेल पहिलो हाफ अघि बरावरी भएको थियो । दोस्रो हाफको सुरुवातीमै फेरि कर्मचारीका तर्फबाट सीमन केसीले तेस्रो गोल गर्दै अग्रता बढाउनु भएको थियो । खेलको अन्त्यतिर जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले तेस्रो गोल गरेपछि खेल बराबरीमा टुंगियो ।
खेल सुरु सुरु हुनु अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मैत्रीपूर्ण खेलका लागि फुटवल काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।
खेल समापनपछि सम्वोधन गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र कर्मचारीबीच खेलमा जस्तै महानगरपालिकाका विकास निर्माणका काममा मैत्रीपूर्ण सम्वन्ध रहँदा सेवा प्रवाहमा सहज हुने बताउनुभयो । प्रमुख प्रशासकीय अघिकृत ज्ञवालीले पनि जनप्रतिनिधि र कर्मचारीबीच नङमासुको सम्वन्ध रहनु पर्नेमा जोड दिनुभयो ।

Loading...