सन् १९२३ अर्थात् ९१ वर्ष पहिलेदेखि सुरु भएको नेपाल–भारत जलयात्रा अब भने टुङ्गोमा पुग्न लागेजस्तो छ । हरेक खेलको सीमा अवधि हुन्छ । यो जलस्रोत तथा जलविद्युतरुपी ९१ वर्षे वल्र्ड कपमा नेपालको हार ब्राजिलकै जस्तो हुने प्रस्ट देखिँदैछ । ब्राजिल नामी खेलाडीको देश र आयोजक राष्ट्र भएर पनि नराम्ररी हा¥यो ।
हामीले पनि शारदा ब्यारेज (१९२३), कोशी ब्यारेज (१९५४), गण्डक ब्यारेज (१९५९), टनकपुर (१९९१), महाकाली (१९९६), माथिल्लो कर्णाली (२००८), अरुण ३ (२००८) र माथिल्लो मस्र्याङ्गदी (२००८ र त्यसपछि) सम्बन्धी सन्धि, सम्झौता र करारसमेत जोड्दा ८ गोल खाइसकेका छौँ । अरु धेरै परियोजनाहरु भित्रभित्रै सुटुक्क गोल हुने क्रममा छन् खेल मैदान अर्थात् जलस्रोतको भण्डार र सर्वोत्कृष्ट बाँध निर्माणस्थल हामीसँगै हुँदाहुँदै पनि । किनभने भारतसँग जतिसुकै धन, प्रविधि र बजार भए तापनि उसले गोरखपुर, दिल्ली र हरियाणामा त कहिल्यै बाँध बनाउन सक्दैन । तर, हामीमात्र महामूर्ख !
यसपटक भारतीय विदेशमन्त्री सुष्मा स्वराज र त्यसपछि हुने प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका अवसरमा तरल राजनीति र उराठलाग्दो सङ्क्रमणकालको अनुचित फाइदा उठाउँदै भारतले नेपाललाई दबाबमा पारेर गर्नलागेका सम्झौताहरुको छाँटकाँट हेर्दा स्थिति कहालिलाग्दो छ । अब हुने भनिएका प्रस्तावित सम्झौतामा नेपालले सर्लक्क हस्ताक्षर गरेमा त्यो विगत ९१ वर्षमा कहिल्यै नभएको सुसाइड गोल हुनेछ । त्यसपछि हामी विगतमा भएका कुनै असमान सन्धि सम्झौताबारे बोल्न पाउने छैनौँ ।
भविष्यमा भारत बाहेक अरु कुनै देशसँग जलविद्युत परियोजना र उर्जा व्यापारमा अन्य देश, अन्तर्राष्ट्रिय वित्तीय संस्था वा कम्पनीसँग सोझै सम्झौता गर्नपाउने छैनौँ । हामीले सबै लगानी, व्यवस्थापन र व्यापार भारत सरकार वा उसका निकटस्थ निकायमार्फत मात्र काम गर्नुपर्नेछ । सबै परियोजनामा भारत वा भारत समर्थित कम्पनीहरुको शतप्रतिशत लगानी हुनेछ । कुनै विवाद परेमा प्रचलित सार्वजनिक अन्तर्राष्ट्रिय कानुनको सट्टा निजी अन्तर्राष्ट्रिय कानुन लागु हुनेछ ।
हो, हाम्रो प्रिय नयाँ नेपाल र यस नयाँ नेपालका होनहार नयाँ नयाँ नेताहरु ! हामीले आजसम्म बेचेखुचेको सबैथोक भारतलाई सँधैका लागि सुम्पने यो सुवर्ण अवसर हो । त्यसपछि नेपालको हात काटेर दिने सबैको सत्ता र शक्ति सदा सुरक्षित हुनेछ । तर, हाम्रो नेपाल र हामी नेपालीको वास्तविक हैसियत भने भारतको कुनै प्रान्तीय राज्यभन्दा पनि तल हुनेछ ! कत्रो छलाङ्ग बा !