काठमाडौँ महानगरको आर्थिक सहयोगमा थिमी शंखधर चोकमा पार्क निर्माण

भक्तपुर,२९ कार्तिक भक्तपुरको मध्यपुर थिमी नगरमा आइतबार शंखधर पार्क उदघाटन भएको छ । काठमाडौँ महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा थिमीस्थित शंखधर चोकमा पार्क निर्माण भएको हो । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नवनिर्मित पार्कको उदघाटन गर्नुभएको हो ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले उदघाटन समारोहमा बोल्दै उपत्यकाका १२ वटा नगरपालिकालाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन र पार्क निर्माणका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो । ‘ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माण भइरहेका छन् । शंखधर पार्क तिनैमध्येको एउटा हो ।’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले आ. व. ०७७÷०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम यसप्रकार नगर–नगर साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ ।’

‘संघीय राजधानी अन्य नगरको अभिभावक पनि हो । यसले आफू विकास र समृद्धिको बाटोमा हिड्दा अरु नगरलाई पनि सँगै लिएर जानु पर्छ । हामीले यसै सोचबमोजिम देशभित्रकै नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेर सहयोग गरेका हौँ । काठमाडौँमा पाइने सेवा सुविधा देशका विभिन्न ठाउँमा पु¥याएर काठमाडौँ सँगै छ भन्ने महसुस गराउन सकेकोमा खुशी लागेको छ ।’ शाक्यले विकास निर्माण र व्यवस्थापनका कुरा गर्दै एक्लै होइन सहभागिता र सहकार्यबाट दिगो लक्ष्य हासील गर्न सकिनेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरले देशभित्रका नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गर्ने क्रमको पहिलो चरणमा उपत्यका बाहिर ७ प्रदेशमा प्रत्येकमा एउटाका दरले भगिनी सम्बन्ध स्थापना गरिरहेको छ । अहिलेसम्ममा ५ वटा प्रदेशका ५ वटा नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना भइसकेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर थिमी नथरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौँ महानगरपालिकाको सहयोगबाट करीब १९ रोपनी क्षेत्रफलमा पानीको झरना, झुण्डिएको बगैँचा, ढुंगेधारा, डवली, वाकिङ रोड निर्माण गरिएको जानकारी दिनुभयो । यसमा काठमाडौँ महानगरपालिकाको २ करोड र मध्यपुर थिमीको ४ करोड गरी जम्मा ६ करोड रुपैयाँ खर्च भएको प्रमुख श्रेष्ठको भनाइ थियो ।

पार्क निर्माण अझै पनि सम्पन्न भइसकेको छैन । अझै केही लगानी आवश्यक छ । प्रमुख श्रेष्ठले भन्नुभयो, ‘महानगरले थप आर्थिक सहयोग दिने कुरामा हाम्रो अपेक्षा कायम छ ।’

कुनै समय फोहोरको पहाडमा नाक थुनेर हिड्नु पर्ने ठाउँ अहिले हेर्न र घुम्न लायक पार्क बन्यो । जनप्रतिनिधिले जनताको सेवा र सहजताका लागि जिम्मेवार भएर काम गर्छन् भन्ने यो एउटा उदाहरण हो । कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, संस्कृति र सम्पदा संरक्षण तथा प्रवर्धनमा काठमाडौँ र मध्यपुर सँगै हिँड्न सक्ने बताउनुभयो । काठमाडौँ मेरा कर्म घर हो । भक्तपुर माइती । म दुवै नगरको उत्तिकै समृद्धि चाहन्छु । उहाँले थप्दै भन्नुभयो ‘काठमाडौँ महानगरको विकासका लागि मेयर र उपमेयरकाविच कुनै पनि विवाद छैन । योजनाका विषयमा मनमा लागेका कुरा हामी कार्यपालिका बैठक र नगर सभामा राख्छौँ । हाम्रो कतै विवाद छैन,’ उहाँले भन्नुभयो, ‘केही विवाद भए हामीले आन्तरिक रुपमै हल गर्दै अघि बढेका छौँ ।’

यस ठाउँमा पहिले फोहोर फाल्ने गरिएको थियो । नगरको वडा ४ मा पर्ने भिरालो जमिनमा सुन्दर पार्क निर्माण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरे । ‘गरे हुने रहेछ ।’ यो पार्क बनेपछि हामीलाई नगरसँग अझै अपेक्षा बढेको छ ।’ उदघाटन कार्यक्रममा सहभागी स्थानीयको भनाइ थियो ।

कार्यक्रममा नेवारी संस्कृति झल्किने विभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो ।

 

Loading...