सेफ सन्तोषको नेपाली ‘कुकिङ बुक’

विश्वकै चर्चित बुक पब्लिकेशन कम्पनी ‘पेन्गुइन रयाण्डम हाउस’ (डीके) ले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का फाइनालिष्ट नेपाली सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित गरेको छ । ‘अइला’ परम्परागत नेपाली ड्रिंक (रक्सी) हो जसलाई सन्तोषले उत्सव एवम् खुसियालीको ‘सगून’ अर्थात प्रेमको प्रतीकका रूपमा परिभाषित गरेका छन् ।

यस पुस्तकमा पनि यस्तै किसिमको भावना शेयर गर्न चाहेको सन्तोषले बताए । विविध स्वाद र परिकारहरूको धनी हुँदाहुँदै पनि ओझेलमा परेको नेपालका तराइ, पहाड र हिमालयका नेपाली सेफ र मास्टर सेफको सङ्ग्रहको पहिलो कुक बुक हो आइला । उनको यो बुक ५२ वटा मुलुकमा प्रकाशित भएको छ ।

जसमा पाँच दर्जन भन्दा बढी तराइ, पहाड र हिमालका मेनुहरू सम्मिलित छन् । यस पुस्तकको माध्यमबाट घरैमा बसेर स्थानीय मरमसलाको सहायताले सजिलै विभिन्न खालका परिकार बनाउन सकिने सन्तोषले रातोपाटी लाई बताए । आइलामा सन्तोषले नेपाली परिकार मात्र नभएर तराइ, पहाड र हिमाल, नेपालको नक्साका साथै बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने समेत उल्लेख गरेका छन् ।

अदुवा र खुर्सानीको साथमा स्वादिष्ट चिकन मम, काँचो केराको तरकारी, भिंडी मसला, माछाको झोल (तोरी र प्याजको चटनीसहितको खोलाको माछा) पोर्क र ब्याम्बो शुट करी, आँप र नेपालीको अचार, शेर्पा ब्रेड, नेपाली मसला चियालगायतका परिकार बनाउने सरल उपाय उक्त बुकमा उल्लेख छ ।

नेपालमा हुर्केर भारत हुँदै बेलायतका उत्कृष्ट रेस्टुरेन्ट सिनामन किचन, मिसिलिन स्टार, बनारस लगायतमा काम गरिसकेका सन्तोषले पछिल्लो समयमा नेपाली खाना र नेपाली मेनुलाई विश्वमाझ चिनाउन लागि परेका छन् । मास्टर सेफ प्रतियोगितामा समेत नेपालको स्थानीय सामग्रीहरूलाई अनौठो रूपमा प्रयोग गरेका सन्तोषले निर्णायकलाई समेत चकित पारेका थिए । नेपालको सिरहा जिल्लाको दुर्गम स्थानमा हुर्किएका सन्तोषले आफ्नै गाउँठाउँमा प्रयोग गरिने टिफिन बक्सको समेत प्रतियोगितामा प्रयोग गरेका थिए ।

एउटा पिछडिएको तराई वस्ती सिरहा जिल्लाको कर्जन्हामा जन्मिएर साइकलमा पाउरोटी बेच्दै जीविकोपार्जन गर्न समेत संघर्ष गरिरहेको एउटा ठिटोले बेलायतमा आएर विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा नेपाली खाना लिएर प्रस्तुत भएर नेपाल र नेपालीकै गौरवको विषय बने सन्तोष ।

सामान्य होटलमा ‘किचन पोर्टर’ बाट काम शुरु गरेका सन्तोषले काम गर्दागर्दै होटलको व्यवस्थापनमा सञ्चालित ‘इन्सटिच्यूट अफ क्याटरिङ एण्ड होटल म्यानेजमेन्ट’ मा ‘डिप्लोमा इन होटल एण्ड क्याटरिङ म्यानेजमेन्ट’ कोर्स गरे र ५ वर्षकै अवधिमा पाँच तारे होटलको एक्जुकेटिभ सेफ बने ।

सन् २०१० अन्ततिर लन्डन आइपुगेका सन्तोषले यहां निकै प्रतिष्ठित मानिने भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरुमा एक्जुकेटिभ सेफको उच्च पोजिसिनमा काम गरे । फ्रेन्च कुजिइनका ‘गडफादर’ मानिने रेमण्ड ब्लांक (ओबिई) र अर्का सेलिब्रेटी सेफ विवेक सिंहसंग पनि उनले काम गरे ।

भारतीय कुइजिनमा करिब दुई दशक बिताएपछि सन्तोषमा नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा चिनाउने भावना जाग्यो । आफूले यसअघि सँगै काम गरेका मिसिलिन स्टार, सेलिब्रेटी सेफहरूबाट सिकेको व्यावसायिक सीप र अनुभव नेपाली खाना प्रवर्धनमा सदुपयोग गर्ने सङ्कल्प लिएर नेपाली खानालाई विश्वसामु चिनाउने प्रयत्नमा लाग्दै आएका छन् । नेपाली खानालाई विश्वसामु चिनाउन गरेको सन्तोषको प्रयासलाई नेपाल सरकारले समेत सुप्रवल जनसेवाश्री पदकबाट सम्मान गरेको छ ।

Loading...