एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न मन्त्री भुषालको अपिल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गर्नु भएको छ ।

ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठपर्वका उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाउँन र विद्युतीय चुल्होको प्रयोग गरि डलर साटेर आइसीले खरिद गरेको ग्यास विस्तापित गर्न सबैमा अनुरोध गर्नु भयो।

“बत्तीमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युत्बाट चलाउन नसक्ने अवस्था पनि हुन सक्छन् । अब विद्युत्को चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युत्को अधिकतम प्रयोग गरौँ ।” लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री भुसालले बताउनु भयो।

सो अवसरमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयनारायण श्रेष्ठले नगरभित्रको अव्यवस्थित विद्युतीय पोलको व्यवस्थापन र विद्युतीय संरचना सुधारमा सहयोग गर्न आग्रह गर्नु भयो ।

Loading...