चिनियाँ बैदेशिक मामिला कार्यालयका प्रमुख र अमेरिकी समकक्षबीच भेट-वार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय बैदेशिक मामिला कार्यालयका प्रमुख याङ चेछले अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सम्बन्धी सहायक ज्याक सुल्लिभानसँग स्विजरल्याण्डको ज्युरिखमा भेट-वार्ता गर्नुभएको छ। स्थानीय समय अनुसार अक्टोबर ६ तारिख आयोजित सो भेट-वार्तामा दुवै पक्षले चीन-अमेरिका सम्बन्ध तथा साझा अभिरूचि भएका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय समस्याबारे चौतर्फी रूपमा सदिच्छापूर्वक गहन बैचारिक आदानप्रदान गर्नु भएको छ। सो रचनात्मक भेट-वार्ता आपसी समझदारीलाई बढाउन सहयोगी भएको छ। पारस्परिक रणनीतिक सम्पर्कको प्रवर्द्धन गर्दै विद्यमान मतभेदको उचित नियन्त्रण तथा व्यवस्थापन गर्ने सहमति पनि दुवै पक्षले गरेका छन्।

वार्तामा चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख याङले आपसी सम्बन्धमा साझा हित र जीत भएको वास्तविकतालाई बुझेर अमेरिकाले चीनको आन्तरिक मामिला तथा रणनीतिको सही जानकारी लिनुपर्ने पुष्टि गर्नुभएको छ। प्रतिस्पर्धाबाट चीन-अमेरिका सम्बन्धलाई परिभाषित गर्ने कुराको चीन विरोध गर्दछ भन्ने कुरा पनि याङले प्रकाश पार्नुभएको छ। यसका अतिरिक्त, याङले थाइवान, हङकङ, सिन्च्याङ, तिब्बत तथा मानवअधिकारको सम्बन्धमा चीनको गम्भीर अडानबारे चर्चा गर्दै अमेरिकाले चीनको सार्वभौमसता, सुरक्षा तथा विकासको हितको व्यावहारिक रूपमा आदर गरी चीनको आन्तरिक मामिलामा हस्ताक्षेप गर्न तुरून्त बन्द गर्ने आग्रह पनि गर्नुभएको छ।

उता अमेरिकी पक्षले एक चीन नीतिको पालना गर्ने कुरामा जोड दिएको छ। साथै जलवायु परिवर्तन लगायत साझा अभिरूचि भएका अन्तर्राष्ट्रिय विषयबारे पनि बैचारिक आदानप्रदान भएको छ। नियमित वार्ता तथा सम्पर्क राख्ने इच्छा पनि दुवै पक्षले व्यक्त गरेका छन्।

Loading...