३३ किलो सुनकाण्डमा मुछिएका सबै प्रहरीले पाए सफाइ, ८ जना दोषी ठहर, गोरेलाई जन्मकैद

काठमाडौँ। ३३ किलो सुनक काण्डमा मोरङ जिल्ला अदालतले तस्करी र उक्त सुन लिएर आउने भरिया सनम शाक्यको हत्यामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीसहित ८ जनालाई दोषी ठहर गरेको छ । सुनकाण्डमा मुछिएका सबै प्रहरीले भने सफाइ पाएको छ ।
सनम शाक्यको हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई सनम शाक्यको हत्या अभियोगमा दोषी ठहर गरी जन्मकैदको सजाय सुनाइएको छ । फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ भने अन्य दुई जनामध्ये एक जनालाई तीन वर्ष र अर्कालाई ६ महिना कैद सजाय सुनाइएको छ ।
सुन तस्करीका मुख्य अभियुक्त तथा अपहरण तथा शरीर बन्धकको अभियोगमा चुडामणि उप्रेती गोरे २०७५ सालको जेठमा गौरीघाटबाट पक्राउ गरिएको थियो ।
सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् ।
यसै गरि, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।
२०७४ माघ ९ गते दुबईबाट नेपाल ल्याइएको साढे ३३ किलो सुन गायब भए पछि सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो ।

 

Loading...