सामाजिक एकतामा ‘आसमान नेपाल ’को योगदान

असोज १९ ,जनकपुरधाम । चार वर्ण छत्तीस जातिको साझा फूलबारीको रुपमा परिचित नेपालको आसमान (आकाश)का साँच्चिकै आसमान नेपालले सामाजिक एकताको माला बुन्न योगदान दिएको देखिन्छ ।
वास्तवमा शिक्षा र वालश्रमको क्षेत्रमा विभिन्न परियोजना मार्फत् वालवालिकालाई विद्यालयसम्म पु¥याउने, विभिन्न शैक्षिक गतिविधिसहित अध्यापन गर्ने उद्देश्य रहे पनि यस संस्थाको कामका कारण अप्रत्यक्ष रुपमा सामाजिक, जातीय, धार्मिक र भाषिक एकतामा बल पुगेको छ ।


धार्मिक र भाषिक रुपमा भिन्न दर्शन, विचार, संस्कार, संस्कृति र रहनसहन भएको जातिलाई पनि शिक्षाको उज्यालोबाट अन्य जातिसँग घुलमिल हुन प्रेरित गरेको छ । र, त्यस्तै समाजबाट कथित रुपमा हेपिएको, दबिएको र सिमान्तकृत हुन पुगेको दलित समाजलाई पनि मूलधारमा आउने बाटो यस संस्थाको क्रियाशीलताबाट सम्भव भएको छ ।
त्यसैगरी, शारीरिक रुपमा अशक्त भएका अपाङ्गता भएका वालवालिकालाई पनि सामाजिक सचेतनासहित सपाङ्गहरुसँग मिलजुल भएर समाजमा रहनसक्ने वातावरण निर्माण भएको छ ।


यी र यस्ता उदाहरण प्रदेश नम्बर २ को राजधानी रहेको धनुषा जिल्लामा केही वर्षदेखि सञ्चालित ‘निक शिक्षा दिउ’ अभियानको कारण सम्भव हुनु पुगेको छ । ‘असल शिक्षा दिऔं’को अभियानले प्रभावकारी रुपमा शिक्षा लिने र क्षमतावान विद्यार्थी उत्पादनदेखि सबल जनशक्ति निर्माण हुने दिशामा बढिरहेको छ ।
सरकारी विद्यालयमा गएर पढेपछि आफ्नो समाज र धर्म नासिन्छ भन्ने मानसिकतामा रहेको मुस्लिम समुदायका वालवालिका विद्यालयमा जान थालेपछि अन्य धर्म र जातिका विद्यार्थीसँग घुममिल भएका छन् ।
विगतमा मदरसामा गएर मस्लिम धर्मग्रन्थ कुरान र उर्दूमा मात्र सिमित रहेको मुस्लिम विद्यार्थी मदरसामा सरकारी दर्तासँगै बाहिर गएर पनि सरकारी विद्यालयमा अध्ययन गर्न थालेपछि एकआपसमा धार्मिक सहिष्णुता अक्षुण्ण हुन पुगेका हो ।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर १० मा रहेको श्री राष्ट्रिय जनता आधारभूत विद्यालयका शिक्षक साफिद राइनले धनुषा जिल्लामा रहेका मुस्लिम समुदायले सरकारी शिक्षा लिन थालेकोले अन्य जातिसँग घुलमिल भएर बस्न लागेको बताउनुुहुन्छ ।
उहाँका अनुसार मदरसामा रहने मौलानाहरुले मदरसालाई नेपाल सरकारको सरकारी निकायमा दर्ता गरेसँगै आधिकारिक शिक्षा मात्र होइन समाजनै मूलधारमा आएको छ ।
आफू पनि मुस्लिम समुदायका नागरिक भएकोमा गर्व महसुस गर्ने शिक्षक राइनले विगतमा भन्दा अहिले मुस्लिम जाति खुल्ला आसमान रहने समुदायको रुपमा परिवर्तन हुँदै भएको बताउनुहुन्छ ।


उहाँका अनुसार उर्दू भाषा, कुरान, अरबिक भाषासहित मुस्लिम वालवालिकाहरु नेपाली, अँग्रेजी, गणित, विज्ञानजस्ता विषयहरुमा अब्बल हुुँदै गएको दाबी गर्नुभयो । यी शिक्षासँगै नेपाल, नेपालका जातजाति, भाषा, धर्म, समाज, संस्कृति, रहनसहन सिक्न र बुझ्ने अवसर जुर्ने भएकाले पनि सामाजिकिरण र परसंस्कृतिकरण हुँदै गएको छ ।
यस्तै, गौरीपुर छात्रा सञ्जालकी सचिव अर्मिसा अधिकारी मुस्लिम जाति र धर्म भनेपछि डर लाग्ने गरिएकोमा अहिले सो डर दुबैतर्फ हटेको स्मरण गर्नुहुन्छ ।
एउटै क्षेत्रमा आमनेसामने टोल रहे पनि छोइछुटो लाग्ने जस्तै भएर पृथक रुपमा पहिचानका साथ जीविकोपार्जन हुँदै आएकोमा यस अभियानका कारण मुस्लिम समुदाय र हिन्दु (मैथिल समाज, थारु, दनुवार)समाजसँग अन्तरघुलन र मिश्रित रुपमा रहन सक्ने वातावरण पैदा भएको उहाँ बताउनुहुन्छ ।


त्रिविको विएड अध्ययन गरिरहनुभएकी अधिकारीले ‘एकले पाँचलाई पढाउने’ अभियानमा रहेर शिक्षिका बन्दा मुस्लिम समाजका वालवालिकालाई पढाउन पाउँदा आपसी भेदभाव हट्न पुगेको बताउँदै आफूले पनि सामाजिक पूँजीको रुपमा सम्मान पाउँदा हर्ष लागेको बताउनुभयो ।
पृथक रहनसहन भएको यस समुदाय शैक्षिक गतिविधिका कारणले सामाजिक रुपमा अन्तरघुलन भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
यस्तै, दलित जातिका वालवालिकाका पनि अन्य जातिका वालवालिका झैं विद्यालयमा गएर पढ्न पाएकाले शैशवकालदेखि नै अन्य जातिसँग अन्तरघुलन हुन सहयोग पुगेको छ । विद्यालयमा पढ्ने रहर हुँदाहुँदै पनि कैयौं दलित वालवालिका पढ्न र लेख्नबाट वञ्चित भैरहेका थिए ।
सामाजिक रुपमा छुट अछुटको पर्खालका कारणले पनि गैरदलित विद्यार्थीसँग पढ्ने आँट गर्न हिम्मत नगर्ने सामान्ती सोचाइबाट ग्रसित यस समाजका जाति पनि खुल्ला रुपमा विद्यालयमा जान थालेका छन् ।


वाल अधिकारसहित नागरिक अधिकार धनुषा जिल्लाको लक्ष्मनिया गाउँपालिका वडा नम्बर ३ को धंकार टोलका शंकर धंकारको आर्थिक स्थिति नाजुक रहेका कारण कक्षा ५ मा विद्यालय छोड्न वाध्य हुनुभयो । करिब १३ वर्षका उहाँ रौतहटको मावली पर्ने एक होटलमा वालश्रम गर्न वाध्य हुनुभयो ।
यस्तो अवस्था थाहा पाएपछि यस संस्थाका सहयोगी हातहरुको कारणले दुई वर्षअघि उद्दार हुनुभयो । उहाँ अहिले बननिया गोपालपुरको जनता माध्यामिक विद्यालयमा कक्षा ७ मा पढिरहनुभएको छ । उहाँले कक्षा १२ सम्म अध्ययन गरेर विदेशमा जाने इच्छा व्यक्त गर्नुभएको छ ।
यस्तै, अपाङ्गता भएर हिँड्डुल गर्न असमर्थ ७ वर्षका आशिक महरा पनि दातृ निकायले उपलब्ध गराएको ह्विलचियर पाएर खुशी हुँदै नियमित रुपमा विद्यालय गइरहनुभएको छ ।
सो नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छोटी मुखियाले मुस्लिम र दलित विद्यार्थीको विद्यालय जाने संख्या, पढ्ने वातावरण, अध्ययन क्षमता बढेको जानकारी दिनुभयो ।
कोभिड भएको बेला पनि यस संस्थाले विभिन्न शैक्षिक गतिविधिहरु गरेर पढाइलाई निरन्तरता दिन सकेकाले पनि मुस्लिम र दलित विद्यार्थीहरुको अध्ययन गर्ने मनोबल बढेको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ३ का वडा सदस्य विहारी धामी बताउनुहुन्छ ।
पढाइसँगै उनीहरुले सामाजिक रुपमा अन्य जातिसँग पनि अन्तरघुलन हुन पाउँदा जातीय विभेद र उचनीचको भावना हटेर गैरहको दाबी पनि गर्नुभयो ।

Loading...