महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ। एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ ।

नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो ।

उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा २२ खेलाडी छन् भने ११ अफिसियल रहेका छन् । मुटुमा समस्या देखिएकी डिफेण्डर पुनम जर्घा मगर भने टोलीमा छैनन् ।

नेपाली टोलीलाई सोमबार प्रतिनिधिसभा सांसद तथा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै अन्य पदाधिकारीले बिदाई गरेका थिए ।

यसअघि नेपाल र बंगलादेशले एएफसी महिला एसिया कप २०२२ छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका थिए । पहिलो खेल नेपालले २-१ गोल अन्तरले जितेको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

उज्वेकिस्तानमा हुने समूह एफको खेलमा नेपालले फिलिपिन्ससँग २ असोज र हङकङसँग ५ असोजमा खेल्नेछ ।

Loading...