मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुन नदिने : महासचिव विप्लव

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुन नदिने बताएका छन् । सोमबार काठमाडौंको खुल्लामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको भन्दै यसलाई लागू गर्न नदिने बताएका हुन् ।

 

उनले अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दबाब दिएको उल्लेख गरे । उनले एमसीसी जबरजस्ती पास गर्न खोजिए राँको बाल्ने चेतावनी दिए । पैसाले मात्रै विकास नहुने भन्दै विप्लवले एमसीसीले देश विकास हुन्छ भन्नु मूर्खता भएको बताए । उनले एमसीसीका विषयमा मान्छेलाई भाँड्ने प्रयास भइरहेको र नेपाली जनताले यो कुरा बुझेको पनि बताए । उनले कुनै पनि हालतमा नेपाली जनतामाथि एमसीसी थुपार्न नदिने धारणा राखे ।

त्यस्तै विरोधसभामा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसीको बहानामा अमेरिकाले नेपालमा कब्जा जमाउन खोजेको आरोप लगाए । नेपालमा युरोनियम छ भन्ने पत्ता लागेको र नेपाल जलस्रोतमा पनि धनि रहेकाले अमेरिकाले जबरजस्ती नेपाललाई एमसीसी सहायत दिन लागेको उनले बताए ।

गजुरेलले एमसीसी सम्बन्धी बहसमा बुद्धिजिविहरुले युरेनियम कब्जा गर्ने लेखेको कहाँ छ भन्दै प्रश्न गरेकोमा अचम्म लागेको तर्क गरे । उनले नेपालको राष्ट्रिय स्वाधिनताका बिषयमा कुनै सम्झौता गर्न नहुने बताए । त्यस्तै बिरोधसभामा सहभागी अन्य दलका नेताहरुले एमसीसीको चर्को बिरोध गरेका थिए ।

Loading...