बौद्ध भावना केन्द्रमा प्रतिस्थापित वुद्ध प्रतिमा अनावरण

काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको छ । केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहनुभएका वुद्धको प्रतिमा अनावरण गरिएको हो ।
मूर्ति अनावरण गरिसकेपछि प्रमुख शाक्यले, बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यकोतर्फबाट लगानी बढाएको बताउनुभयो । ‘बुद्ध नेपालमा जन्मिए तर बिहारहरु सबै अरु देशको सहयोगमा निर्माण भए । बिहार कसले बनायो भनेर सोध्यो भने, कुनै श्रीलङकाले, कुनै थाइल्याण्डले, कुनै जापानले भन्ने उत्तर आउँछ । तर नेपालको नाम कमै मात्र आउँछ । त्यसैले मेरो नेतृत्वमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक निर्णय गरेर नेपाली बज्रयान परम्पराको विहार निर्माणमा सघाउन थालेका हौँ । यस अघि दाताहरुको सहयोगमा मात्र विहार निर्माण हुने गरेका थिए । हामी आए पछि राज्यको उपस्थिति जनाएका हौँ ।’
महानगरले लुम्बिनीमा नेपाली शैलीको विहार बनाउन सघाएको छ । काठमाडौँको वडा २८ मा वुद्ध विहार, वडा ५ मा नरविहारलगायत अन्य विहारमा हाम्रो सहयोग छ । प्रमुख शाक्यको भनाइ थियो ।
आज प्रतिस्थापित प्रतिमा बाबुकाजी शाक्यको परिवारले आफ्ना दिवंगत मातापिता, श्रीमति र छोराका नाममा दान गर्नुभएको हो ।
प्रतिमा प्रतिस्थापनका अवसरमा भिक्षु इन्दक स्थविरले शील प्रदान गर्नुभएको थियो भने भिक्षु संघबाट वुद्धाभिषेक (मंगल पाठ) र बुद्ध पूजा गरिएको थियो । भिक्षु ञाणाबुध स्थविरले उपदेश दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा पुण्यानुमोदन गरिएको थियो ।
कार्यक्रमपछि प्रमुख शाक्यले धम्महल भवनको अवलोकन गर्नुभएको थियो । यो भवन बनाउन महानगरले करीव ४ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । केन्द्रका अध्यक्ष प्रत्येकरत्न ताम्राकारकाअनुसार भवन निर्माणको काम सन्तोषजनक रुपमा भइरहेको छ । महानगरले यत्तिका सहयोग गरेको छ । अब हाम्रो चाहना भनेको घरजग्गा कर मिनाहा गरिदेओस् भन्ने हो ।
२०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउने, ध्यान शिविर चलाउनेलगायत काम गर्दै आएको छ ।

 

 

Loading...