पहिलो हिटबाटै बाहिरिइन् नेपालकी सरस्वती

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् ।

शुक्रबार बिहान भएकाे महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठाैं भइन् । उनी अघिल्लाे चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२.९१ सेकेण्डमा दूरी पूरा गरिन् । सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखे पनि सफल हुन सकिनन् ।

युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागि भएकी सरस्वतीको बेस्ट टाइमिङ १२:५५ सेकेण्ड हाे। उनले २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा उक्त टाइमिङ राखेकी थिइन् । त्यसअघि २०१९ मै कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा उनले १२.७२ सेकेण्ड टाइमिङ निकालेकी थिइन् ।

प्रारम्भिक चरणमा तीन हिटमध्ये नेपालकी सरस्वती हिट २ मा थिइन् । प्रारम्भिक चरणमा कूल २७ खेलाडीले प्रतिस्पर्धा गरेकाेमा हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरेका छन् ।

महिला १०० मिटरमा राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा छ । उनले सन् १९९९ को सागमा १२.१९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

सुरुमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउने पक्का भएपनि पछि म्याराथनमा धेरै कोटा भएको भन्दै उनको सट्टा महिला १०० मिटरमा सरस्वतीलाई ओलम्पिकमा पठाइएको हो ।

सरस्वती बाहिरिएपछि टाेकियाे ओलम्पिकमा नेपालको यात्रा सकिएकाे छ । ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएकोमा सहभागितामै सीमित बन्याे ।

यसअघि नै प्रतिस्पर्धा गरिसकेकामध्ये सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले राषट्रिय कीर्तिमानमा सुधार गरेका थिए । जुडो खेलाडी सोनिया भट्ट भने पहिलो चरणमै १ मिनेट १६ सेकेण्डमै पराजित भइन् । चारै खेलाडी पहिलो चरणबाटै बाहिरिएका हुन् ।

Loading...