निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी सिंह, मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारले जनाएको छ ।

एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने/दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दावी छ ।

सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हुन् । उनीविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरिएको छ । त्यस्तै अख्तियारले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउतसँग पनि त्यति नै विगो माग दावी गरेको छ । तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो माग गरिएको छ ।

यसअघि पनि लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा सिंहसहित मैनाचुली निर्माण सेवा प्रालिका प्रवनध निर्देशक मदनकुमार अधिकारी विरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५६ रुपैयाँ बारकरको भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

निर्धारित शर्त र सम्झौताविपरीत कमजोर गुणस्तरको ग्याविन तार प्रयोग गरेर काम गरेको आरोप उनीहरुविरुद्ध थियो ।

Loading...