यति खडेरी परेको छ कि, हातको औंलामै गन्न मिल्ने संख्यामा सीमित त्यस्ता इमान्दार ब्यक्ति छन् यो देशमा र त केही आशा जागेको छ । भरोसा पलाएको छ ।
र, तिनै सीमित मध्येमा परेका, जनताको आँखाको नानीझैँ प्यारामा दर्ज भएका वर्तमान समयका चर्चित व्यक्तिको नाम लिनुपर्दा उर्जामंत्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नाम अत्यन्तै श्रद्धा एवम् सम्माननीय व्यक्तित्वको रुपमा उच्चारण गर्ने गरिन्छ ।
चर्चा-परिचर्चा त सधै हुँदै आएको नै हो । तर, यो हप्ता उहाँहरुको चर्चा अलि बेग्लै किसिमले हुन पुग्यो । किनकि, अखबारका पन्नाहरुले उहाँहरुमाथि गम्भीर आरोप लगाए । बिना टेन्डर भारतसँग LED बल्ब खरिद गरेर जनार्दन-कुलमानको टीमले अनियमितता गरेको, कमिशन खाएको, भ्रष्टाचार गरेको जस्ता जघन्य आरोप लगाउँदै कान्तिपुरले आफ्नो कभरपृष्ठमा समाचार प्रकाशित गर्यो । देशको ठूलो संचार माध्यमले यसरी खबर प्रकाशन गरेपछि जनतामा कानेखुशी शुरु भयो । शंकाको अप्रीय हुरी बेतोडले चल्न थाल्यो ।
जीवनभरको इमान्दारिता एउटा भ्रामक समाचारले क्षणभंगुर बनाउने सम्भावना सह्य थिएन । त्यसैले प्राधिकरणमै पत्रकार सम्मेलन गरेर जनतालाई यथार्थ बताउने काम भयो ।
जनतामा जनार्दन-कुलमानको टीम त्यस्तो अनैतिक हुनै सक्दैनन भन्ने पूर्ण विश्वास भएता पनि जसले औंला उठाइएको थियो, तिनलाई उचित जवाफ पनि दिनु थियो । आँखिर, औंला ठड्याउनेहरु जो-जो थिए, जीवनभर ठाडो शिर नहुनेगरी लतारिन विवश भएका छन् ।
‘’हामीले अहिले नेपाली जनताबाट एउटा बल्बमा पैसा खानु पर्ने अवस्था छैन । त्यसरी जनताबाट पैसा खाने अवस्था पनि मेरो हैन । मैले पैसा नै खान परेको भए, नेपाली जनताको पैसा खानु पर्ने थिएन । चुपचाप दुर्इ चार घण्टा लोडसेडिंङ गरेको भए करोडौं रुपैयाँ त्यत्तिकै कमाउन सक्थें । इमान्दार भएर जनताको काम गर्दा हाम्रो टीमलाई निरुत्साही गरिन्छ भने भोलिका दिनमा देशमा काम गर्न मुश्किल छ ।’’ कुलमानले गहभरी आँशु पार्दै भने । त्यत्ति मात्रै हैन, उनले यो पनि भनेका छन् कि प्राधिकरणले व्यापार गर्न हैन, उज्यालो नेपालको अभियानलाई सफल बनाउने प्रयाश मात्रै थालेको हो । कमिशनको कुरा जुन आएको छ, प्रमाणित भएमा देश निकालाको सजाय मागेका छन् । र आफ्नै लागि फाँसीको सजाय मागेका छन् । अब यो हेर्नु छ कि आरोप लगाउनेहरुले प्रमाण पुर्याउन सकेनन भने देश छोड्नेछन् या आफ्नो लागि आफै फाँसीको निबेदन प्रकाशित गर्नेछन्, प्रतिक्षाको घडी चलिरहेको छ ।
आरोप भित्र लुकेको दुर्नियत
कृत्रिम लोडशेडिंङको खेती गरेर इन्भर्टर-सोलार-ब्याट्री जस्ता आयातित साधनबाट अकूत मुनाफा कमाएका माफियाहरुको चङगुलमा फसेका वस्तीहरुमा वर्तमान सरकारले चौतर्फी रुपमा अँध्यारोको औषधि छिटे पछि, ‘डार्क-किलर-रे’ ‘dark killer-ray’ प्रबाह गरेपछि यिनीहरु तिल्मिलाएका थिए । माफियाहरुद्वारा संचालित तर जनता बिचमा खुल्न बाँकी यस्ता एक से एक धन्दाहरु छन्, जसको निर्मूल सभ्य समाजको जोडदार आव्हान हुनुपर्दछ ।
समाजको सोही चाहनालाई बुझेर सरकारले LED बल्बमा हात हाल्यो । नभन्दै माफियाहरुले ३५० देखि ४५० सम्ममा बेच्दै आएको सो बल्ब सरकारले १०४ रुपैयाँ मै ल्याउने अवस्था बनेको छ । बिजुली कम खपत गर्ने यस्तो बल्ब अब जनताले कर सहित जम्मा जम्मी १३०-१४० रुपैयाँ मै पाउने वतावरण निर्माण भएको छ ।
करीब-करीब माफियाको प्रवक्तामा रुपमा देखिएको कान्तिपुरको नजरमा यही नै हो जनर्दन-कुलमानको अपराध ǃ माफिया-तस्करहरुको तोडीदै गरेको विरासत उसलाई निको लागेको छैन । त्यसैले ऊ छट्पटिएको छ । १०४ को बल्ब ३५०-४५० मा दशकौंदेखि बेचिएको छ बजारमा, कान्तिपुरले त्यहाँ जनता डसिएको देखेन । जनताको रगत-पसिना चुसिएको देखेन । जनतालाई सचेत गरौँ भनेर कहिलै समाचार सम्प्रेषण गरेन । मोटो बिज्ञापन खर्च लिएर जनताको खल्तिमा लागेको कैंचीलाई अनदेखा गरिरह्यो । सुदखोरहरुलाई सधै अन्नदाताको रुपमा पुजा गरिरह्यो । यति नै रहेछ उसको स्वार्थ ǃ देश र जनताप्रतिको उसको उत्तरदायित्व ǃǃLED बल्बको बारेमा यति धेरै जानकार रहेछ कान्तिपुर, तर पनि जनतालाई समयमै सुसूचित नगर्ने उसको हर्कत जति निन्दनीय छ । त्यो भन्दा बढी आक्रोश तब पैदा हुन्छ जब सरकारले ६५ भारुमा किन्न लागेको बल्ब त्यो भन्दा निक्कै कममा भारतमा किनबेच भैरहेको दाबी गर्दछ । भारत सरकारले पिछडिएका सम्प्रदाय र क्षेत्रका आफ्ना गरीब जनतालाई अनुदान दिएर मुल्य कटौती गरेर कम मुल्यमा वितरण गरेको हुन पनि सक्ला । जसरी हाम्रै देशमा पनि खाना पकाउने LP ग्याँसमा सरकारले दुई-चार सय घाटा नै खाएर जनतालाई वितरण गरिरहेको छ । अब के कान्तिपुरले पनि भारतसँग त्यस्तै अनुदान सुबिधा खोजेको हो त ? हात थाप्ने प्रथाबाट कहिले माथि उक्लने हो, बैराग लाग्ने हर्कत देखिन्छ ।
यो समाचारबाट कान्तिपुरले दुर्इटा हर्कत पूरा गर्ने लक्ष राखेको देखिन्छ । एउटा त माफियाको सेवा गरेर बिज्ञापन कुम्ल्याउने र ढुकुटी भर्ने । अर्को चै, स्थानीय चुनावको मुखैमा माओबादी र त्यससँग जोडिएर आएका अबयबहरुलाई खुइल्याउने, धकेल्ने, लडाउने र अन्ततोगत्वा, तस्कर-दलाल-माफियाको सत्तालाई दिगो बनाउने ।
पशुपतिको पुजारी काण्डमा होस् या लिपू लेकको सीमा बिबादमा, लोडशेडिंङ अन्त्यको सवालमा होस् या अहिलेको बल्ब खरीद प्रकरणमा, जतिखेर पनि नेपाली जनताका विरुद्धमा कान्तिपुर अनवरत लागिपरेको नजीर छ । स्मरण रहोस्, लिपू लेक विवादमा उसले लिम्पियाधुरालाई भारततर्फ देखाएर जनतालाई भ्रमित पारेको थियो । पशुपतिको पुजारी काण्डमा पनि नेपाली पुजारीको विरुद्धमा यहाँका धर्मभीरु जमातलाई भड्काएको थियो । जसले राष्ट्रिय देवताको मन्दिरमा बिदेशी पुजारी खोज्छ, देशको भूगोल विदेशमा पार्ने वकालत गर्दछ, राष्ट्रको चौथो अङ्गमा उसको दाबी कसरि प्रमाणित गर्न सक्दछ ?
सुधिर शर्मा कान्तिपुरका सम्पादक तिनै व्यक्ति हुन्, जसले ‘प्रयोगशाला’नामक झुठको महाभारत लेखेर माओबादी बिरोधि अभियान चलाउँदै आएका छन् । यहाँका बुद्धिजीवीहरुले उनको ‘प्रयोगशाला’लार्इ अकाट्य धर्मशास्त्रको रुपमा पुजा गर्छन् । माओवादी खुइल्याउन सो पन्तुरोमा लेखिएको कुरालाई प्रमाणको रुपमा अगाडि सार्ने गर्छन् । अब त ती बुद्धिजीबी पनि होसमा आउन कि शुधिर शर्माले लेख्ने-छाप्ने हरेक सामाग्रीहरु बिल्कुल कपोलकल्पित-भ्रामक-मनगढन्ते-पूर्वाग्राही र मुख्यत: माओवादी विरोधी, देशी विदेशी माफिया-द्रब्यमैत्री भन्दा माथि उठेका स्वतन्त्र-स्वाभिमानी हैसियतका हुँदैनन । बल्ब प्रकरणले फेरि पनि प्रमाणित गरेको छ ।
हज्जार माइलको यात्रा पहिलो पाइलाबाट शुरु हुन्छ भन्ने चिनियाँ भनाइ यहाँ पनि लागू हुने क्रममा छ । जनार्दन-कुलमानको पाइला रोक्किने छैन । माफियाले पोसिएका भुसतिघ्रेहरु एक न एक दिन थला पर्ने नै छन् । र योसँगै अर्को कुरा, सुधारवादीको आरोप लगाउनेहरुले पनि कम नआँकुन कि, जादुको छडी कसैको हातमा छैन । सुधार्ने या सपार्ने जो आए पनि शुरु गर्ने त एक-एक गर्दै नैं हो । त्यसको लागि धुलो-मैलो-हिलो जतासुकै पस्नुपर्ने हुन्छ । सदियौंदेखिको यो गन्धे आहालमा जनार्दन र उनका नेता प्रचण्ड नहेलिएको भए, यो भित्रको खिचडी कस्तो छ, पहिचान कसरी सम्भव हुन्थ्यो होला र ǃ पाखातिर बसेर तर्साएर भन्दा समिप आएर दलालहरुलाई लड़ाउनुको मज्जा नै अर्को छ । आज सुधारवादीको आरोप लगाउनेहरु पनि एक न एक दिन परिबर्तनको पिल्लर उठाउन खाल्डोमा त छिर्नु नै छ । जसरी आज जनार्दनहरु छिरेका छन् ।
अन्त्यमा, । बल्ब बिक्रेता राष्ट्रको स्पष्टिकरण, श्रीलंकाले समेत सोही मुल्यमा किनेको प्रमाणले के पुष्टि भयो भने कुलमान-जनार्दनहरुले कुनै अनियमितता गरेका छैनन । सार्बजनिक खरिद ऐन २०६३ अनुसार पनि यो कदम अनियमिततामा पर्दैन । अत: कान्तिपुर, यसका सम्पादक, आलेख तैयार गर्ने बलराम बानियाँ, अब सम्पूर्ण रुपमा नाङ्गिसकेका छन् । विगतदेखिका सम्पूर्ण हर्कतका लागि यी सबैले जनतासँग सुध्रने बाचा गर्दै माफी माग्नु पर्दछ । देश भित्रका इमान्दार पक्षलाई हमला गरेर उन्नति-प्रगतिको बाधक बन्ने छैनौं भन्ने प्रण गर्नु पर्दछ । मन बचन कर्मले नै इमान्दार व्यक्तिहरुमाथि लान्छना लगाएकोमा सकिन्छ भने त्यस्तो लेख्ने आफ्ना औंलाहरुलाई ढुंगाको अचानोमा राखेर आफैले घनले बजार्ने, छाप्न योग्य छ-छैन छुट्याउन नसक्ने सम्पादकले आफ्नो मस्तिष्कमा मुड्की बजार्ने र यत्ति ठूलो अपराधका लागि त्यत्ति पनि गर्न सकिन्न भने कान्तिपुरले अब आइन्दा आफ्नो प्रकाशन बन्द गर्नु नै देश र जनताको हितमा देखिन्छ ।
तर सम्भावना देखिन्न । यिनको आक्षेप केवल दुराशयले भरिएको विष वमन भन्दा अरु थिएन । प्रमाणित भयो । कुलमानको आँशुसँग सबै नेपालीको हृदय भावविव्हल भयो । तर पनि यिनीहरुको कुण्ठित मुहारमा ग्लानीको कुनै रेखा देखिएन । निर्दोषलाई यत्रो घात गर्दा पनि क्षमायाचनाको कुनै सङ्केत देखिएन । मानौ यिनीहरु बधशालाका निर्मम बगरे नै हुन् । यिनलाई कुनै लाज छैन । शरम छैन । न त कुनै भय नै छ । डामेको साँढे झैँ सिना तन्काएर, आँखा सन्काएर आज पनि, निर्बाद विचरण गरिरहेको छ, बिच सडकमा ।यो भन्दा ठुलो प्रेस स्वतन्त्रताको स्वर्ग विश्वमा अर्को मुलुक कहाँ होला ?ǃ
सतीले सरापेको देशलाई जनार्दन-कुलमानको आँशुले नसरापोस्, कामना गरौँ ।