सगरमाथा आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौँ ल्याइएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौँ ल्याइएको हो ।

सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ : ०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए ।

मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाडौँ ल्याइएको बताइएको छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

यस्तै दुई वर्षअघि मृत्यु भएका एक अमेरीकन नागरिकको पनि शव परीक्षणका लागि काठमाडौँ ल्याइएको थियो । हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्धार गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

सगरमाथा आरोहण शुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको मृत्यु भएको छ । स्वीटजरल्याण्डका नागरिक अब्दुल वारिचको पनि गत वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा मृत्यु भएको थियो ।

यही जेठ ४ गते सङ्खुवासभा घर भएका अन्दाजी २७ वर्षीय टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...