सर्वोच्चले गर्यो दोस्रो पटक पनि प्रतिनिधि सभा पुनः स्थापना

काठमाडौं, २८ असार । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ ।

संवैधानिक इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बाेलाउन समेत आदेश दिएको छ । पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको ३ महिना पनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्न मिति तोकेकी थिइन् । त्यसविरुद्ध नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतले सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गरेका थिए ।

जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि त्यसविरुद्ध परेको रिटमाथिको बहस असार २१ गते मात्रै सकिएको थियो ।

पक्ष र विपक्षमा गरी लगातार भएको बहसपछि अन्तिम समयमा एमीकस क्युरीले आफ्नो राय पेस गरेका थिए । असार २१ गतेको अन्तिम सुनुवाइपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा असार २८ गतेलाई हेर्दाहेर्दैमा राखिएको थियो ।

पहिलोपटक विघटन गरिएको प्रतिनिधिसभा अदालतको आदेशबाट बदर पुनस्र्थापना भएको थियो । गएको फागुन ११ गते संवैधानिक इजलासबाट संसद बिघटनको निर्णय बदर भई १३ दिनभित्र संसद बोलाउन आदेश भएको थियो ।

Loading...