युरोकपको उपाधि इटालीले चुम्यो, ट्राइब्रेकरमा इंग्ल्यान्ड पराजित

काठमाडौँ । घरेलु टोली इंग्ल्यान्डलाई ट्राइब्रेकरमा पराजित गर्दै इटालीले युरोपियन च्याम्पियनसिप २०२० को उपाधि उचालेको छ।

लन्डनको वेम्वेली स्टेडियममा आइतबार राति भएको खेलमा इटालीले पेनाल्टी सुटआउटमा ईंग्ल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै १६ औँ संस्करणको उपाधि जितेको हो। ५३ वर्षपछि इटाली दोस्रो पटक युरोकपको उपाधि जित्न सफल भएको छ।

इटाली यसअघि सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो। १ पटक उपाधि उचालेर २ पटक उपविजेतामै चित्त बुझाएको इटाली चौथो पटक फाइनलमा पुग्दा दोस्रो पटक उपाधि माथि कब्जा गर्न सफल भएको हो। इटाली सन् २००० र २०१२ मा भएको युरोकपमा उपविजेतामा सीमित भएको थियो।

उता पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने उपविजेता मै चित्त बुझाउन बाध्य भयो। ५५ वर्षपछि ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा रहेको इंग्ल्यान्डको सपना भने अधुरै रहेको छ।

इंग्ल्यान्डले यसअघि सन् १९६६ मा भएको विश्वकपको उपाधि जितेको थियो। त्यसयता टोली पहिलोपटक फाइनलमा पुगेको हो। युरोकपको १० संंस्करणमा छनोट भएको इंग्ल्यान्ड दुईपटक तेस्रो भएको थियो। युरोकपमा सन् १९६८ र १९९६ मा तेस्रो स्थान हात पार्नु नै टोलीको अहिलेसम्मको उत्कृष्ट नतिजा हो।

निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो।

घरेलु टोली इंग्ल्याण्डले खेलको दोस्रो मिनेटमा नै लुक शाको गोलमा अग्रता बनाएको थियो। काइरान ट्रीपिएरले दिएको क्रस पासमा काउन्टर अट्याकमा शा ले पहिलो टचमा नै गोल गरेका थिए।

पहिलो हाफमा १–० ले पछि परेको इटालीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीम ल्याएको थियो। पहिलो हाफमा बल पोजिसनमा इटालीले पकड जमाएपनि फिनिसिङमा चुक्न पुग्दा बराबरी गर्ने अवसर गुमाएको थियो।

खेलको ६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा गोल गर्दै खेलमा फर्कियो। इंग्ल्यान्डका डिफेन्सले क्लिअर गर्न नसकेको बलमा बोनुचीले गोल गर्दै इटालीलाई खेललाई बराबरीमा ल्याएका थिए।

Loading...