कुवेतको तापक्रम ५३.३ डिग्री पुग्यो, पृथ्वीकै अत्यधिक गर्मीको रेकर्ड

काठमाडौँ । कुवेतको उत्तरी शहर अल–जहराको तापक्रम ५३.५ डिग्री सेल्सियस पुगेको छ । गत आइतबार मापन गरिएको यो तापक्रमले कुवेत विश्वकै सबैभन्दा बढी गर्मी हुने स्थानमा दरिएको छ ।

बढ्दो तापक्रमले गर्दा दैनिक जनजीवन प्रभावित भएको छ भने त्यहाँका रेष्टुरेन्ट तथा बजारहरु बन्द गरिएका छन् । बाटोमा पैदल यात्रीको संख्या पनि शून्यमा झरेको छ । गत साता कुवेतको अधिकतम तापक्रम ५० डिग्री मापन गरिएको थियो ।

एक निर्माण कम्पनीका मालिक मोन्सुर अल–ओतइबीले अत्यधिक गर्मीका कारण आफ्नो कम्पनीमा कार्यरत मजदुरहरुले काम गर्न नसकेको बताए । बढी तातोले कम्पनीमा फलामजन्य सामानहरुको ओसारपसारमा समस्या परेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तापमापक यन्त्रमा छाँयामा ५३ डिग्री र घाम लागेको समयमा ७० डिग्री तापक्रम देखाएको छ ।

कुवेतको छिमेकी मुलुक इराक र इरानको तापक्रम ५१ डिग्री छ ।

Loading...