म अब लेख्दिन

 

बिन्ती हजुर,
मलाई माफ गर्नुहोस
भयो ! म अब लेख्दिन ।।
मैले त,
वस्तिका भोकहरू
नाङ्गो पैतलाका डोबहरू
उमेर छँदैका वुढ्यौली बैंसहरू
जिर्ण रहरहरू
र खण्डहर सपनाहरू
अलिकति विश्वास, अपेक्षा
अनि भरोसा तिमी प्रतिको
लेखेको न हुँ
त्यही नै विरोध हुन्छ भने
हजुरका लागी
मलाई माफ गर्नुस महाशय
भयो ! अब म लेख्दिन ।।
कुनै वाद बोक्दैन
मेरो लेखनीले
न समर्थन गर्छ
कुनै विचारको
कुहिनोले पहाड ठेलेजस्तो
के अर्थ छ र विरोधको पनि
न समर्थन, न विरोध
न वाचा, न प्रतिवद्धता
न स्तुति, न समर्पण
न आग्रह, न पूर्वाग्रह
केही नहुँदा नहुँदै पनि
किन रिसाउनु हुन्छ यति विघ्न
भो! रौद्ररूप देखाउनु पर्दैन
एकपटकलाई माफ गर्नुस हजुर
कान समातेर भन्छु
भयो ! अब म लेख्दिन ।।
आँखा बन्द गर्छु,
कान थुन्छु,
हात बाँधेर बस्छु
केही नदेखे झै,
केही नसुनेझै,
केही नबुझे झै
अभिनय गर्छु
बरू मेरै सासले हजुरको
निद्रा खल्बलिन्छ भने
सास फेर्न छोड्छु म
मेरै धडकनले
कम्पन आँउछ भने
मुटु पनि बन्द गर्छु
हात जोड्छु, बिन्ती छ
यो पटकलाई माफ गर्नुस
भयो! अब म लेख्दिन ।।
मेरा अक्षरहरू,
कोरोना भाईरस होइनन
साईनाइड बिष होइनन
न त गोला, बारुद र बारूदी सुरुङ्ग नेै हुन
मेरा अपेक्षा र तिम्रा प्रतिवद्धता
मेरा अधिकार र तिम्रा कर्तव्य
अनि मेरा माग र तिम्रा वाचाहरू
जोड्ने पुल हुन झै लाग्थ्यो मलाई त
तर के गर्नु ? होइन रहेछ
त्यसैले,
तिमिलाई मन नपर्ने कुरा
म किन लेख्छु र
तिम्रो पाउ छोएर, कसम खाएर भन्छु
अब पनि लेखे भने
झुन्डाईदिनु खरीको बोटमा
अन्तिम पटकलाई मलाई माफ गर्नुस हजुर
पशुपतिनाथको कसम,
मेरो कुलदेवताको कसम
भयो ! अब म कहिल्यै लेख्दिन ।।