१५ लाख राशीको ‘एनआरएन द सिंगर’ सुरु

लन्डन । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न लागेको ‘एनआरएन द सिंगर’को शुभारम्भ गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा संगीतकार शम्भुजीत बासकोटाले संयुक्त रूपमा शुभारम्भ गरे ।

संघका केन्द्रीय अध्यक्ष पन्तले कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्न विश्वास लिए । संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले कार्यक्रम सफल बनाउनका लागि देशविदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गरे । उनले यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरे ।

प्रि–अडिसनपछि नेपालका टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही एपिसोड नेपालमा पनि हुनेछन् । निर्णायक समितिका प्रमुख निर्णायक बासकोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक सांगीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा निर्णायक शम्भु राई, आइसिसी सदस्य तृष्णा शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए । उद्घाटनपछि प्रिअडिशन आइतबारदेखि खुला भइसकेको छ । डायस्पोराका नेपाली भाषी अग्रज र अनुजका स्वर प्रतिभा पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिंगर’ शुरु गरेको हो ।

कार्यक्रममा प्रथम पुरस्कार १५ लाख, द्वितीय पुरस्कार सात लाख र तृतीय पुरस्कार चार लाख तोकिएको आयोजकले जनाएका छन् । ‘एनआरएन द सिंगर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् । भिडियो फाइल र त्यसको लिङ्कसमेत एपमा राख्न सकिनेछ । यो एपमा कार्यक्रमबारे जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।

‘खोजीः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा संगीतकार बासकोटा, गायक राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।

कार्यक्रमको सह–उत्पादन टेक क्राफ्ट अस्ट्रेलियाले गरिरहेको छ भने सुवी टेक्नोलोजी प्रविधि पार्टनरका रूपमा रहेका छन् ।

Loading...