लमजुङको दोर्दी खोलामा ठूलो बाढी, जलविद्युत आयोजनामा ठूलो क्षति, २ घर बगे

लमजुङ, १ असार । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण लमुजङ जिल्लाको दोर्दी खोलामा आएको बाढीले यस क्षेत्रका जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको छ ।

दोर्दी खोलाको एक जलविद्युत आयोजनामा काम गरिरहेका अमर बस्नेतले एकाएक बाढी आएपछि आफूहरु क्याम्पबाट भागेर ज्यान जोगाएको पनि बताए । बाढीले धेरै विद्युतका पोलहरु ढाल्नुका साथै अन्य भौतिक संरचनामा पनि ठूलो क्षति पु¥याएको छ ।

दोर्दी खोलामा आएको बाढीले दोर्दी गाउँपालिका –८ हिलेबजारका चतुरे विक र कन्या तामाङको घर बगाएको छ । खोलामा पानीको बहाव बढिरहेको र नजीकै भएकाले ती घर बगेका हुन् । घर बगाएपछि बेँसीशहर नगरपालिका वडा नं. ११ चिती प्रहरीचौकीका पाँच हरी त्यसतर्फ जाँदै गरे पनि बाटो अप्ठ्यारो र पानी निरन्तर परिरहेकाले पुग्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताए ।

त्यस्तै सोही खोलाले दोर्दी– ६ कृतिपुरका कृष्ण घलेको कृषि फार्मसमेत बगाएको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । जिल्लामा विभिन्न स्थानमा खोला नजीकै र जमीन कच्चा भएको स्थानका दर्जनौँ घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले समेत आज सूचना जारी गर्दै मर्स्याङ्दी र दोर्दी गाउँपालिका तथा बेँसीशहर, सुन्दरबजार र राइनास नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा पानीको बहाव बढिरहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनका साथै आसपासका शाखा नदी नजिकका कमजोर भिरालो जमीन क्षेत्रका बासिन्दालाई सुरक्षितसँग बस्न आग्रह गरेको छ ।

यतिबेला जिल्लाका मर्स्याङ्दी नदी तथा दोर्दी, किसेदी, रिस्ती, मिदिम खोलालगायत दर्जनौँ खोलामा पानीको बहाव वृद्धि भइरहेको छ । वर्षा हुने क्रम जारी रहेकाले स्थानीयवासी त्रसित छन् ।

हेर्नुहोस दोर्दी खोलामा आएको बाढीबाट भाग्दै गरेका मजदुरले खिचेको भिडियो

Loading...