विद्युतको महसुल भुक्तानी अनलाइनबाट तिर्नुस – प्राधिकरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले महसुल भुक्तानी गर्न अनलाइन माध्यम प्रयोग गर्न आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै निषेधाज्ञाका कारण मिटर रिडिङका लागि घरघरमा कर्मचारी पठाउन नसकेको कारण अनलाइन मार्फत भुक्तानी गर्न आग्रह गरेको हो।
प्राधिकरणले कार्यालयमा भौतिक रूपमा उपस्थित हुँदा महामारीका बेला संक्रमण फैलने जोखिम उच्च भएकाले यो बिधि अपनाउन आग्रह गरेको छ।
उपभोक्ताले बिल प्राप्त गर्न प्राधिकरणको सम्बन्धित वितरण केन्द्र वा हटलाइन ११५० मा सम्पर्क गरी आफ्नो मिटर अंक टिपाउन सकिने छ। अथवा https://consumer.nea.org.np मा लग इन गरी प्राप्त निर्देशन अनुसारका विवरणहरु भरेर मोबाइलबाट प्राधिकरणको एन्ड्रोइड एपमार्फत् आफैं मिटर हेरेर महसुल निर्धारणका लागि पठाउन सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा नजिकका विद्युत कार्यालयमा फोन गरेर मिटरमा चढेको अंक टिपाएर बिल प्राप्त गर्न सकिने भनिएको छ ।

ग्राहकको सेवाकालागी विद्युत प्राधिकरणबाट स्वीकृत इसेवा, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, पे प्वाइन्ट नेपाल, आइएमइ पे, खल्ती, सीएसएस रेमिट लगायत सेवा प्रदायकहरुमार्फत महसुल भुक्तानी गर्न सकिने छ ।

यसै गरि बिलिङ सम्बन्धी जानकारी एसएमएसबाट उपलब्ध गराउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। उनका अनुसार एसएमएस सेवाका लागि नेपाल टेलिकम र एनसेलसँग सम्झौता भइसकेको छ।

Loading...