हामीले भनेका थियौ संसदीय व्यवस्था जनतासँग मेल खादैन, सही साबित भयो : विप्लव

अबको बाटो जनमतसंग्रह हुनुपर्ने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सांसद बिघटनको भएको घटनालाई लिएर आफ्नो पार्टीले २०७३ सालदेखि राख्दै आएको धारणा अहिले सही साबित भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी बात प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणा गरेपछि पार्टीको धारणा सार्वजनिक गर्दै आज उनले आफ्नो पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाएको प्रष्टिएको भन्दै आफ्नो पार्टीको निष्कर्ष अहिले सही साबित भएको र अबको बाटो जनमतसंग्रह हुनुपर्ने बताएका हुन् ।

उनले लगभग दुई तिहाइ मतसहित बनेको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि जानुपर्ने वाध्यता आउनु कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको विप्लवले वक्तव्यमा जिकिर गरेका छन्‌।

वक्तव्यमा भनिएको छ –
‘२०७३ साल देखि दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन, यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही सावित भएको छ’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘शान्ति, स्थिरता एवं समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो।’

यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र हुने तर्क उनले गरेका छन्।

विप्लवले संसदीय व्यवस्थाको संकटको निकास निर्विकल्प रुपले वैज्ञानिक समाजवाद मात्र हुने भन्दै आज पार्टीको मत जनताको माग र चाहनासँग जोडिएको पनि बताएका छन् ।

आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद या दलाल पुँजीवाद रोज्ने अधिकार जनमतसंग्रहद्वारा जनतालाई दिनु ठीक हुने विप्लवको भनाइ छ।

Loading...