१४९ सांसदहरू संसद विघटनविरुद्ध सर्वोच्च जाने तयारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरि चुनाव घोषण गरेपछि असन्तुष्ट सांसदहरुले यो कदम खारेजीको माग गर्दै सर्वोच्च जानेबारे तैयारी थालेको छ । यो कदमविरुद्ध संसद् भवन बानेश्‍वरमा बसेको सर्वदलीय बैठकले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्‍त्री केपी ओलीको कदमलाई गलत भएको ठहर गर्दै खारेज गर्ने रणनीति र आन्दोलनबारे छलफल हुने बताइएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन्।

विपक्षी सांसदहरूले राष्ट्रपति र प्रधानमन्‍त्रीले संविधानमाथि जालसाजी गरेको भन्दै यो कदमलाई प्रतिगमनको संज्ञा दिएका छन्।

शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।

Loading...