अक्सिजन सिलिन्डर कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने ३ जना पक्राउ

अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा प्रहरीले ३ जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका-३ घर भएका ३९ वर्षीय रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका-१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएका ४२ वर्षीय नबराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका-२ घर भएका ४२ वर्षीय राम शरण अधिकारीले बढी मूल्यमा सिलिन्डर बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले बजारमा अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्य भन्दा बढी लिई प्रति सिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो । साथै उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर १ थान, सोही सिलिन्डर विक्री गर्दै गरेको नगद ४१ हजार रुपैयाँ र ४ थान रसिद समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Loading...