लालबाबुका लागि अस्ट्रेलियाबाट पाँच लाख चन्दा सहयोग

मोरङ, ३ मंसिर । मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डितलाई अष्ट्रेलियामा रहेकी एक नेपाली महिलाले निर्वाचन खर्चका लागि पाँच लाख सहयोग हस्तान्तरण गरेका छन् ।

अस्ट्रेलियामा बस्दै आएकी तेह्रथुमकी राधिका पोखरेलले नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य समेत रहेका पण्डितलाई पाँच लाख १११ हस्तान्तरण गरेकी हुन् ।

विराटनगरमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा राधिकाका दाजु नारायण पोखरेल र भाई चन्द्र पोखरेलले पण्डितलाई सो रकमको चेक हस्तान्तरण गरे । पोखरेलद्वयले पण्डित जस्ता नेपाली राजनीतिका स्वच्छ छविका व्यक्तिले चुनाव जितेको हेर्न मन भएकाले रकम सहयोग गरेको बताए ।

मंसिर २१ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा पण्डित नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालासँग चुनावी प्रतिस्पर्धामा छन् ।

Loading...