अदालतले गर्यो सेवा कटौती , रिट तथा निवेदन, हदम्याद, म्याद र तारेख नगुज्रने

काठमाण्डाै। सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने भएको छ । सर्वोच्च अदालतको मंगलबार बसेको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले बुधबार देखि बैशाख मसान्तसम्मका अत्यन्त जरुरी महत्वपूर्ण विषय बाहेक अरु विषयका सेवा कटौती गर्ने निर्णय गरेको हो ।

अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुशार बैठकले बैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोराेना महामारीसँग सम्बन्धित् अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने निर्णय गरेको छ।

यसै गरि सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति र जोखिमको अवस्थाको मूल्याङ्कन गरि सो को आधारमा उपयुक्त देखिएको अवस्थामा काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय गरेको छ ।
काम कारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने सर्वोच्चले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

आवश्यकताअनुसार यही वैशाख ३१ गते बस्ने बैठकले थप निर्णय तय गर्ने अदालतले जनाएको छ ।

Loading...