निषेधाज्ञामा दुलहा-दुलहीसहित जन्ती जान पास नचाहिने

काठमाडौँ। निषेधाज्ञाको समय दुलहा-दुलहीसहित जन्ती जान छुटै पास नचाहिने भएको छ। बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेशमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवाहका पास नचाहिने उल्लेख गरेको हो।

दुलहा-दुलहीसहित सवारीमा १५ जनासम्म जन्ती जान पास नचाहिने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा उल्लेख छ। ‘विवाह तथा व्रतबन्ध आयोजनाको लागि १५ जनासम्मका सहभागी (दुलाहा दुलहीसहितका)हरुले ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति पास लिनुपर्ने। विवाह/व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भएमा चालक सहित बढीमा सातजना सम्मको लागि स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन पेश गर्नुपर्ने। मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस)सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्ने।’जारी सूचनामा भनिएको छ ।

Loading...