स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न, १७ बुद्धाचार्य परिवारको एकिकृत घर देशकै पहिलो एकिकृत

काठमाण्डाै। विश्व सम्पदामा सुचिकृत स्वयम्भु महाचैत्य नजिकै रहेको कर्मराज महाविहार (गुम्बा)को पुनर्निर्माण सम्पन्न भएको छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको सो महाविहारका १७ औ अवतारी गुरु कर्मापा थिन्ले थाय दोर्जेको १३ करोड ५२ लाखमा काठमाण्डाै महानगरपालिका वडा नं. १५ संग सम्झौता भई निर्माण सम्पन्न भएको हो। महानगर पालिका १५का अध्यक्ष एवं स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डङ्गोलले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा) र स्वयम्भूका पुजारी बुद्धाचार्य परिवारका १७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

स्वयम्भू परिरसरमा सदियौंदेखि बसोबास गर्दै आएका बुद्धाचार्य पुजारी परिवारका १७ वटा घरलाई हाउस पुलिङ प्रणालीबाट एकै ठाउँमा ल्याई एउटै आकारमा पुरातत्व विभागको मापदण्ड अनुसार मौलिक सैलीमा निर्माण गरिएको छ । हाउस पुलिङका लागि ३० प्रतिशत जनसमुदाय र ७० प्रतिशत दाताको सहयोगमा निर्माण सम्पन्न भएको छ।

वि.सं. २०७५ पुस ३० गते गृहमन्त्री रामबहादुर थापाबाट आरम्भ भएको पुनर्निर्माण करिब २ वर्षको अवधिमा सम्पन्न भएको पनि उहाँले बताउनुभयो। पुनर्निर्माण भएको महाविहार (गुम्बा) र घरहरु बैशाख १३ गते सोमबारका दिन सम्बन्धित महाविहार र घरधनीहरुलाई हस्तान्तरण हुने अध्यक्ष डङ्गोलले बताउनुभयो ।

Loading...