भैरहवामा औद्योगिक व्यापार मेला शुरु

बुटवल, १ मंसिर । भैरहवामा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला ‘कृषि तथा पर्यटन महोत्सव, २०७४’ शुरु भएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र ः राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ नारासहित भैरहवाको अञ्चलपुरमा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु भएको हो ।

मेला उद्घाटन पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । मेलाको उद्घाटन गर्दै दाहालले संविधानसभाबाट संविधान प्राप्त भइसकेपछि अबको गन्तव्य आर्थिक विकास र समृद्धि भएको बताए ।

मुलुकको आर्थिक विकास र समृद्धिसँगै स्थायित्वका लागि नै वाम गठबन्धन भएको भन्दै अध्यक्ष दाहालले वाम गठबन्धन कसैका विरुद्ध नभएको दोहो¥याए ।

उनले भने – “७० सालयता पूरा पाँच वर्ष टिकेको सरकारको रेकर्ड छैन, तसर्थ पाँच वर्ष सरकार चलाउने र देशलाई १० वर्षभित्र एशियाली मापदण्डमा पु¥याउने उद्देश्यले वाम गठबन्धन भएको हो ।”

अध्यक्ष दाहालले नेपालले चीन र भारत दुवै मुलुकबाट लाभ लिन सक्नुपर्नेमा पनि जोड दिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र बनाउन देशभित्रको आन्तरिक उत्पादन बढाउनुपर्नेमा जोड दिए । नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले अबको पालो देश विकास र समृद्धि भएको बताए ।

मेला आयोजक समितिका संयोजक नारायणप्रसाद भण्डारीले स्वदेशी उत्पादनको बजार प्रवद्र्धन, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने, उद्योगीहरुमा प्रतिस्पर्धी क्षमता वृद्धि गर्न प्रेरित गर्ने, रुपन्देहीमा उद्योग, व्यापार, कृषि र पर्यटनको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्यसहित मेला आयोजना गरिएको बताए । उनले भैरहवामा स्थायी मेलास्थल र स्थायी संरचना नहुँदा वर्षेनी लाखौँ रुपैयाँ खेर जाने गरेको गुनासो गर्दै मेलास्थलका जग्गा उपलब्ध गराउन माग गरे ।

महोत्सवलाई सम्बोधन गरेर अध्यक्ष दाहाल हेलिकप्टरबाट स्याङ्जामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न प्रस्थान गरेका छन् ।

यहाँ विद्युत्को अभावमा विशेष आर्थिक क्षेत्र सेज दुईपटकसम्म उद्घाटन भएर पनि सञ्चालनमा आउन सकेको छैन । यहाँका व्यापारीले १३२ केभिए प्रसारण लाइन यथाशीघ्र जडान गर्न, चर्को बैंक ब्याज दर घटाउन, उद्योग व्यवसायमैत्री नीति ल्याउन र लुम्बिनीलाई शान्ति शहरका रुपमा विकास गर्न माग गर्दै आएका छन् ।

मेलामा उद्योग, व्यापार, होटल÷रेष्टुराँ, सूचना प्रविधि, अटोमोबाइल्स, कृषि, पर्यटन र संघसंस्था तथा प्रायोजकका गरी करिब ४०० कक्ष रहेका छन् ।

मेलाको आकर्षणका रुपमा यसपटक मेला प्रवेशद्वार ड्रागनको मुखाकृतिमा बनाइएको छ भने राउटे जातिको अवलोकन गर्न पनि पाइने छ । दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, महिला तथा पुरुष कुस्ती, डिजे नाइट, फेशन शो, जिल्लास्तरीय खुल्ला नृत्य प्रतियोगिता, भोजपुरी कलाकारको प्रस्तुति, लुम्बिनी दर्शन प्याकेज टुर, सेल्फी जोन, बाल उद्यान आदि मेलाको मुख्य आकर्षणका रुपमा रहेका छन् ।

मंसिर ११ गतेसम्म सञ्चालन हुने मेला तीन लाख दर्शकले अवलोकन गर्ने र ६० देखि ६५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको कोषाध्यक्ष सचिन रोक्काले जानकारी दिए । मेला उद्घाटनअघि भैरहवाको बुद्धचोकबाट बाजागाजा, विभिन्न जनजातिका झाँकी, हात्तीसहित दर्जनौँ संघसंस्था सहभागी बृहत् औद्योगिक जनचेतना ¥याली निकालिएको थियो ।

Loading...