यस्तो छ ओलीविरुद्ध संसदभित्रको समिकरण

काठमाडौं, २५ फागुन । पुनस्र्थापित संसदको पहिलो बैठकमै सरकारले अध्यादेश ल्याएपछि झस्किएको नेपाली कांग्रेस अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउने मूडमा पुगेको छ । यसअघि कांग्रेसभित्र सरकारमा जाने र नजाने अथवा ओलीसँग समिकरण बनाउने वा प्रचण्ड माधवसँग समिकरण बनाउने भन्नेमा अलमल देखिएको थियो । तर, ओलीले निरन्तर संविधान विपरित कदम चालेको भन्दै कांग्रेस ओली वाहेकका दलहरुको गठबन्धन बनाएर अघि बढ्ने निष्कर्षमा पुगेको देखिएको छ । सोही बुझाईका साथ यसअघि ओलीतिर ढल्किएको आरोप लागेका कांग्रेस सभापति शेरबहादुर देउवा ओलीलाई फाल्नुपर्छ भन्न थालेका छन् । यसअघि प्रचण्ड माधव समूहले कांग्रेसलाई सरकारको नेतृत्व गर्न औपचारिक प्रस्ताव नै राखेको थियो । त्यस्तै जनता समाजवादी पार्टीले पनि ओली वाहेकका संसदभित्रका दलहरु मिलेर संयुक्त सरकार बनाउने कुरामा छलफल चलाएको हल्ला चलेको थियो । यदि यस्तो समिकरण बन्यो भने संसदमा यो गठबन्धनको सजिलै बहुमत पुग्ने देखिएको छ ।

संसदभित्रको संख्याको हिसाब यस्तो छ

संसदमा कांग्रेसका ६३ सांसद छन्। तर उपसभापतिसमेत रहेका विजयकुमार गच्छदार र सांसद मोहम्मद अफताब आलम निलम्बनमा छन्। यो अवस्थामा कांग्रेससँग अब ६१ सांसद छन्।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको संसदको तेस्रो दल माओवादी केन्द्रका ५३ सांसद छन्। यीमध्ये अग्निप्रसाद सापकोटा सभामुख छन्। ५२ सांसदमध्ये चार जना प्रधानमन्त्री ओलीतिर छन्। अहिले मन्त्री रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी फर्केनन् भने माओवादी केन्द्रसँग ४८ जना सांसद हुनेछन्।

यस्तै समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टीमा ३४ सांसद छन्। यीमध्ये पप्पु यादव र रेशम चौधरी निलम्बनमा छन्। अब जसपासँग ३२ सांसद छन्।

कांग्रेसको ६१, माओवादी केन्द्रको तत्काल देखिएका ४८ र जसपाका ३२ जना सांसद गठबन्धनमा आए भने १४१ सांसद संख्या पुग्छ। यो संख्याले बहुमतको सरकार बनाउन पुग्छ। बहुमतको सरकार बनाउन संसदमा १३८ जना सांसद चाहिन्छ।

देउवा लागि आफू प्रधानमन्त्री हुने यो उपर्युक्त समय हो। भदौमा कांग्रेसको १४ औं महाधिवेशन छ। महाधिवेशनअगाडि नै प्रधानमन्त्री हुन सके उनले आफ्नो प्रभाव महाधिवेशनसम्म कायम राख्न सक्छन्।

Loading...