नेम्वाङ, सुर्य थापा, महेश बस्नेतसहित सात जनालाई प्रचण्ड-माधव समूहले गर्यो कारवाही

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलका उपनेता सुवास नेम्वाङसहित ओली समूहमा सक्रिय रहेका ७ जना नेतालाई कारबाही गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको हो । नेता भीम रावलले उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको जानकारी दिएका छन् ।

बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तत्काल राजीनामा दिन निर्देशन पनि दिएको छ । संसद विघटन बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने भन्दै केन्द्रीय कमिटी बैठकले पदमा टाँसिरहेको भन्दै निन्दा गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य भीम रावलले केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता विवादमा छिटो निर्णय गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको पनि जानकारी दिए ।

बुधवार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताबारे स्पष्टीकरण समेत दिएका थिए । आफूले देशभित्र एकता हुने हो भने चीन, भारत गायत सबैलाई अनुकुल लाग्छ भनेको, तर एउटा देशको प्रसंग मात्र ल्याएर झुटो प्रचार गरिएको उनले बताएका छन् ।

वैठकले २३ गते बोलाइएको संसद बैठकमा कसरी प्रस्तुत हुने र अगाडि कसरी जाने भनेर दलहरुसँग वार्ता र निर्णय गर्ने अधिकार स्थायी कमिटी र सचिवालयलाई दिएको छ । संविधान र लोकतन्त्रको रक्षाका लागि आवाज उठाउनेहरुसँग कुराकानी भइरहेको भन्दै उनले भने, ‘जसले प्रतिनिधिसभा विघटन गर्‍यो, त्यो प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दण्डित गर्छ ।’

नेतृत्व कसले गर्छ भन्ने प्रश्नमा उनले आपसी परामर्शबाट यसको निर्क्यौल गर्ने बताए । ‘यो संविधान र लोकतन्त्रको रक्षा तथा केपी शर्मा ओलीले गरेको स्वेच्छाचारीको अन्त्यका लागि सबै सकारात्मक पक्षसँग एकतावद्ध भएर जाने हाम्रो प्राथमिकता छ’ उनले भने, ‘यसको अर्थ हो हामी राजनीतिमा खुला छौं ।’

Loading...