एकातिर वार्ताको कार्ड, अर्कोतिर सर्वोच्चको रिहा आदेश वावजुत नेता पक्राउ

काठमाडौं, १० फागुन । सरकारले एकातिर विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्ने भनिरहेका बेला सो पार्टीका उच्च नेतालाई भने पक्राउ गरेको छ । त्यो पनि सर्वोच्च अदालतको रिहा गर्ने आदेशका बाबजुत पार्टीका उच्च तहका नेता धर्मेन्द्र बास्तोलालाई आज सर्वोच्च अदालत परिसरबाटै जवरजस्त पक्राउ गरिएपछि सरकारको वार्ताकार्डमाथि प्रश्न उठेको छ ।

सर्वोच्च अदालतमा बास्तोलाकी छोरी अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले उनलाई सर्वोच्च परिसरबाटै पक्राउ गरेको हो ।

बास्तोलामाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिए । उनलाई आजै काभ्रे पठाइको प्रहरीले जनाएको छ ।

बास्तोलालाई पुस २९ गते प्रहरीले ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यसयता सर्वोच्चले पटक पटक रिहा गर्ने आदेश दिए पनि प्रहरीले भने पक्राउ गर्दै, जिल्ला जिल्लामा सार्दै आएको छ ।

Loading...