मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर गरियो परीक्षण, नयाँ वर्षसँगै काठमाडौंमा पानी दिइने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर परीक्षण गरिएको छ । साढे २६ किलोमिटर सुरुङमा पानी पठाएर परीक्षण थालिएको हो ।

सुरुङ सञ्चालन गर्न परीक्षणका लागि सोमबार पहिलोपटक पानी पठाइएको आयोजनाले जनाएको छ । यस्तो परीक्षण करिब दुई महिनासम्म गरिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले खबरहबलाई जानकारी दिए ।

‘अबको १५ देखि १७ दिनभित्र सुन्दरीजलमा पानी आइपुग्छ’ पन्तले भने, ‘त्यसपछि परामर्शदाता र विज्ञहरुको टोलीले सुरुङले राम्रो काम गरे नगरेको हेर्नुहुन्छ ।’

परामर्शदाताबाट सकारात्मक नतिजा आए पानी चालु गर्ने आयोजनाको तयारी रहेको उनले बताए । ‘सुन्दरीजलसम्म पानी ल्याएर प्रशोधन गर्छौं र वितरणका लागि उपलब्ध गराउँछौँ । यो समय करिब दुई महिनाको हुनेछ’ उनले भने, ‘सबै परिणाम सकरात्मक देखिए त्यसअगावै पनि पानी वितरण उपलब्ध गराउन सकिन्छ ।’

आयोजनाको भौतिक संरचना लगभग सम्पन्न भइरसकेको सूचना अधिकारी पन्तले खबरहबलाई बताए । ‘अम्बाथान, ग्याल्थुम र सिन्धु गरी तीन वटा अडिट टनेल र सुन्दरीजल आउटलेट सहित चार वटा गेट करेक्सनको काम सम्पन्न भइसकेको छ’ पन्तले भने, ‘हेडवक्र्स र विभिन्न संरचनामा कंक्रिट राख्ने काम पनि भइसकेको छ ।’

काठमाडौँसम्म पानी ल्याउन सुरुङ, हेडवर्क्स र पानी प्रशोधन प्रमुख काम हो । ‘पानी प्रशेधन केन्द्र सुरुङ निर्माण सम्पन्न भएर आज परीक्षण पनि गरिसक्यौँ’ पन्तले भने, ‘मुख्य पानी फर्काउने संरचना हेडवक्र्स को पनि संरचना सबै सम्पन्न भइसकेको छ । अब सञ्चालनका लागि विद्युतीकरण, सीसीटिभी क्यामेरा जडान लगायत अनुगमन प्रणालीको काम बाँकी छ ।’ उनका अनुसार विद्युतीकरणको काम दुई महिनाभित्र सकिनेछ ।

मेलम्ची खानेपानी आयोजनाका धेरैपटक ठेकेदार कम्पनी फेरिए । सन् २००९ देखि २०१२ सम्म चिनियाँ कम्पनी सीआरसीसीले काम गरेको थियो ।

त्यस्तै, ०१४ मा इटालियन कम्पनी सीएमएसीले ठेक्का पायो । सीएमएसीले २०१८ मा छोड्यो । त्यसपछि सन् २०१९ सेप्टेम्बरदेखि सिनो हाइड्रोले काम गरिरहेको छ । कुल ३१ अर्ब ३६ करोड रुपैयाँ लागतको यो आयोजनामा ३० अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

Loading...