प्रदेश २ को प्रमुखमा परियारको पदमुक्ति लगत्तै राजेश झा नियुक्त

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुख तिलक परियारलाई बर्खास्त गरेर अर्का प्रमुख नियुक्त गरेकी छन् । शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुख परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकी हुन्।

मन्त्रिपरिषदले परियारको बर्खास्तगी र झाको नियुक्तिका लागि कहिले सिफारिस गरेको थियो भन्ने यकिन छैन। राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को (ख) अनुसार परियारलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

संविधानको उक्त धारामा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुने उल्लेख छ। परियारलाई किन हठात् हटाइयो भन्ने स्पष्ट कारण खुलाइएको छैन। निवर्तमान प्रदेश प्रमुख परियारले आफूलाई राजनीतिक कारणले हटाइएको बताए।

‘मलाई राष्ट्रपति कार्यालयको पत्र आएको छ, त्यसमा संविधानको धारामात्र लेखिएको छ। मलाई किन हटाइयो भन्ने छैन,’ परियारले भने, ‘म पूर्वमाओवादीको कोटाबाट परेकाले हटाएका होलान्।ु

उनले आफूले तटस्थ भएर काम गरिरहेको र सरकारबाट कुनै खालको असन्तुष्टि पनि थाहा नपाएको बताए।

‘प्रधानमन्त्री जनकपुर आउँदा लिन पनि गएको थिएँ, मैले मञ्चमा गएर भाषण गर्ने कुरा भएन,ु परियारले भने, ुमलाई अहिलेसम्म कसैले पनि असन्तुष्टि सुनाएको थिएन।’

शेरबहादुर देउवाको सरकार हटेर केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि २०७६ कात्तिकमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएका थिए। त्यतिबेला पूर्व एमाले र पूर्व माओवादीनिकटहरूलाई भागबण्डा गरिएको थियो।

त्यसमा प्रचण्ड–माधव समूहबाट प्रदेश २ मा परियार, गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेशमा शर्मिला पन्त नियुक्त भएका थिए। परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए। बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द ुविप्लवु को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए। प्रधानमन्त्री ओली निकटले प्रचण्ड–नेपाल समूहलाई सन्देश दिन प्रदेश २ का प्रमुख परियारलाई हटाएको बताएका छन्।

Loading...