राष्ट्रपति भण्डारीले गरिन प्रदेश २ का प्रमुख परियारलाई पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुखलाई पदमुक्त गरेकी छन्। प्रदेश २ को प्रमुखमा तिलक परियार रहेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। संविधानको उक्त धारामा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको छ। १६५ को (ख)मा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुने अवस्था छ।

परियार सबैभन्दा पछिल्लो पटक प्रदेश प्रमुखमा चयन भएका थिए । उनी २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए। उनलाई नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो। उनी तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए। बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए। उनी प्रचण्ड निकट भएकै कारण पदमुक्त गरिएको हुनसक्ने प्रचण्ड–माधव नेपाल समूहका नेताहरुले आरोप लगाएका छन् । यसले नेकपाका दुई समूहको संघर्ष अझ पेचिलो बनेको देखिन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा सँगै रहँदा प्रचण्ड–माधवको पक्षमा रही विभिन्न ठाउँमा नियुक्त गरिएकाहरुलाई धमाधम हटाउने र आफ्ना पक्षमा लागेकाहरुलाई नियुक्त गर्ने गरेका छन् ।

यससँगै अब प्रम ओलीले प्रदेश १ र बागमती प्रदेश सभा विघटन गराउन सक्ने सम्भावना बढेको केही नेताहरुले विश्लेषण गरेका छन् ।

Loading...