अब विद्यालयले एसईई लिन नपाउने

काठमाडौं । यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो ।

२६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

शिक्षा सचिव गोपीनाथ मैनाली सरकारको यो निर्णयले विद्यालयले आफै मूल्यांकन गर्दा देखिएका समस्या नआउने बताए ।

२०७६ चैतमा स्थगित एसईई २०७७ जेठमा मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो ।

Loading...