काठमाडौँ महानगरपालिकाले सम्पदा निर्माण, पुनःनिर्माणमा गरेको लगानी सयौँ वर्षका लागि

काठमाडौँ ,माघ ४ गते। काठमाडौँ महानगरपालिकाले सम्पदा निर्माण, पुनःनिर्माणमा गरेको लगानी सयौँ वर्षका लागि हुने मेयर बिद्या सुन्दर शाक्यले बताउनु भएको छ । वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगँ छेँ पुनःनिर्माणको शिलान्याश गर्दै शाक्यले यस्तो बताउनु भएको हो ।

 

सो क्रममा उहाँले भन्नुभयो, ‘काठमाडौँमा मुख्य गरेर १८ ओटा विहार रहेका छन् । त्यो मध्येको लगं बहाः एक महत्वपूर्ण विहार हो । प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो । बुद्ध शासनकालसँग जोडिएको यो ऐतिहासिक बिहारको पुनःनिर्माणसँगै यहाँका स्थानीयहरु थप उत्साहित बन्नुभएको छ ।’

केही सम्पदा निर्माण–पुर्ननिमाणमा गुठियार–गुठियार बिचमै उत्पन्न विवादलगायतका कारणले ढिलाई भएको पनि उहाँले जानकारी दिनुभयो ।  शाक्यले कतिपय अवस्थामा पुरातत्व विभागले समन्वय नगर्दा, राजनीतिक र व्यक्तिगत स्वार्थले अवरोध गर्दा सम्पदा निर्माण–पुर्ननिर्माणमा अवरोध भएको पनि गुनासो गर्नुभयो ।
काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तरगत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रहेको छ । २०७८ मंसिरसम्म सम्पन्न गर्नुपर्ने कार्यादेश पाएको निर्माण कम्पनी तुलसी कन्स्ट्रक्शनले समयमै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । महानगरपालिकाले यस अघि नै लगं बहाः भित्रै अवस्थित दिगुद्यः पनि पुनर्निर्माण सम्पन्न गरको छ । २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको दिगुद्यः को पनि मेयर शाक्यले नै उद्घाटन गर्नुभएको थियो ।

Loading...