काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
हिंसा भड्किएपछि जारी गरेको कर्फ्यू उल्लंघन गर्दै भएका प्रदर्शनपछिका झडपमा थप तीन जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरूको मृत्युको कारण ‘हेल्थ इमरजेन्सी’ (उपचार अभाव)भएको बताइएको छ ।
नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेपछि त्यहाँ हिंसा भड्किएको थियो । सोक्रममा एक महिलाको प्रहरीको गोली लागेरै मृत्यु भएको थियो । ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै उनका समर्थकहरूले त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए ।
ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङ बाहिर गरिएको तारबार तोडेका थिए । केही प्रदर्शनकारीहरू पर्खालबाट सिनेट चेम्बरभित्र पनि पुगेका थिए। राष्ट्रपति ट्रम्पले केही समयपछि भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन् । उनले भीडलाई शान्त रहन पनि आग्रह गरेका छन्।
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई ‘पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन’ आग्रह गरेका छन् ।
उनले भने, ‘यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेराबन्दीलाई समाप्त पार्ने माग गरुन्।’
वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्। त्यहाँ १५ दिनका लागि आपतकाल समेत घोषणा गरिएको छ । कर्फ्यू उल्लघंन गरेको आरोपमा सुरक्षाकर्मीले ५२ जना पक्राउ गरेका छन् । अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्।