बहुमत केन्द्रीय सदस्यले केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई बनाए अध्यक्ष

काठमाडौं, ७ पुस । सत्तारुढ दल औपचारिक रुपमा विभाजन भएको छ । पार्टीका अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि अझै चुलिएको विवाद अन्ततः अलग अलग केन्द्रीय समिति बनाउने दिशातिर गएको छ । यसैबीच नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पक्षमा रहेका केन्द्रीय सदस्यहरुको बैठकले केपी ओलीलाई कारवाही गरेको छ ।

बबरमहलमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । बैठकले ओलीलाई पार्टी, संगठन, संविधान र देशको हित विपरित कार्य गरेको आरोपमा पदबाट हटाएको हो। ओलीलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई अध्यक्ष पदमा चयन गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन् । यससँगै यो समूहमा अब माधव नेपाल र प्रचण्ड दुबै जना अध्यक्ष बन्ने भएका छन् । 

दाहाल नेपाल समूहको बैठकमा ३१५ जना केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको बताइएको छ । नेकपाको ४४६ सदस्यीय केन्द्रीय समितिमा हाल ४४१ सदस्य कायम छन् ।

यसैबीच नेकपाका प्रचण्डले नयाँ अध्यक्ष घोषणा गरिएका माधव नेपाल र आफू दुईजनाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्। उनले पार्टीको विधानको मर्म अनुसार नै बैठक आलोपालो अध्यक्षता गर्ने बताएका छन्। नेपाललाई नयाँ अध्यक्ष चयन गरेपछि प्रचण्डले सो प्रतिक्रिया जनाएका हुन्।

बैठक आलोपालो गर्ने लगायतका विधानका प्रावधानअनुसार केपी ओलीले काम नगरेका कारण समस्या सिर्जना भएको तर अब नेपाल र आफूबीच त्यस्तो समस्या नहुने उनले बताएका छन्।

प्रचण्डले केपी ओलीले दावी गरे अनुसार संसद विघटन नभएको बरु ओली नेतृत्वको सरकारमात्र भंग भएको दावी पनि गरेका छन् ।

Loading...