आज नेकपाको अलग अलग केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, ७ पुस । प्रधानमन्त्रीले संसद विघटन गरेपछि अझ चुलिएको सत्तारुढ दलभित्रको विवाद अलग अलग केन्द्रीय समितिको बैठक बस्नेसम्म पुगेको छ । आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय केन्द्रीय समितिको फरक फरक बैठक बस्न लागेको हो ।

प्रम ओलीले अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक राख्दैछन् भने कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजे बस्ने भएको हो।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत आइतबार अचानक संसद् भंग गराई वैशाख १७ र २७ प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरेपछि दुई पक्ष आआफ्ना रणनीति निर्माणमा लागेका हुन्।

प्रचण्ड(नेपाल पक्षले आइतबार बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो भने ओलीले त्यसअघि बिहान ९ बजे नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन्।

Loading...