गृहमन्त्री थापालाई भेट्न प्रचण्ड बिहानै पुल्चोक मन्त्रिनिवासमा

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रिनिवास पुल्चोक पुगेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय विरुद्ध पार्टीमा तीब्र धु्रविकरण भइरहँदा मझधारमा रहेका गृहमन्त्री बादललाई भेट्न प्रचण्ड पुल्चोकमा पुगको उनी निकट स्रोतले जनाएको छ ।

प्रचण्ड थापालाई भेटन सोमबार पनि पुल्चोक पुगेका थिए । सोमवार दुई नेताबीच लामो छलफल भएको र आज फेरि प्रचण्ड त्यहाँ पुगेको बताइएको छ ।

नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका बेला नेता थापा भने न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली न कार्यकारी अध्यक्ष प्रचण्ड, कतै पनि खुलेका छैनन्। सरकारमा रहेका सात मन्त्रीले राजिनामा दिए पनि थापाले राजिनामा नदिएका कारण उनी प्रम ओलीतिरै रहेको धेरैले विश्लेषण गरेका छन् ।

सोमबार नै गृहमन्त्री थापा प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए । बेलुका प्रधानमन्त्रीसँग १ घण्टा छलफल गरेर उनी निस्किएका थिए। थापाले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताउने गरेको उनी निकट स्रोतले जनाएको छ । तर, उनी अहिले कुनै पनि भेलामा सहभागी भने भइसकेका छैनन ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे केन्द्रीय समिति बैठक राख्ने भएको छ भने प्रधानमन्त्री ओलीले अहिले बिहान ९ बजे केन्द्रीय समिति बैठक राख्दैछन्।

Loading...