काठमाडौँ, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । सोही बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो । आज बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको पक्षमा रहेका नेताहरू भने सहभागी भएका थिएनन् ।
सोमवार पार्टीका सांसदहरूसँग छलफल गर्ने र मंगलबार बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा उक्त प्रस्ताव लग्ने तयारी पनि नेकपाले गरेका छन् ।
बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले उनीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
नेकपाका अध्यक्षसमेत रहेका ओलीले आइतबार मन्त्रिपरिषदको बैठक मार्फत संसद विघटनको निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् । साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।