आचार्य बन्धुदत्तको मुर्ती युक्ति संगत नभएपछि

पदम श्रेष्ठ – 
काठमाडौँ । वर्षा र सहकालका देवता रातोमच्छिन्द्रनाथ बुङ्गद्योलाई कामरुपकामाक्षा आसामबाट नेपाल ल्याई कृषिकर्म पुनः जागृत गराउनु हुने राजा नरेन्द्र देव, रथचक्र तण्डुकार ज्यापु र आचार्य वन्धुदत्तको शालिक काठमाडौँको भूगोलपार्कमा राख्ने विषयले विवादको रुप लिएको छ ।
विवाद राज्यशक्ति राजा, तन्त्रशक्ति आचार्य र वलशक्ति तण्डुकार ज्यापुको मूर्ति पुरातात्विक वास्तुकला युक्त नभएको र आचार्यपदलाई बज्राचार्यको रुपमा अपव्याख्या गरिएको भन्नेमा रहेको छ ।
वर्षा र सहकालका देवताका रुपमा पुजिने बुँङ्गद्योलाई गोरख सम्प्रदायको नाथ र वैष्णव सम्प्रदायको मच्छेन्द्र अवतारको समास गर्दा हुन गएको रातो मच्छिन्द्रनाथलाई बौद्धहरुले चार लोकेश्वरमध्ये एक मान्दछन् भने शैवहरुले शिव, नागा, शाक्त, सौर्य सम्प्रदायले सूर्यको नाउँमा उपासना गर्दछन् । यसरी प्राकृतिक, शैव, बौद्ध,नाथ, नागा, शाक्त, गणपद आदि सम्प्रदायको साझा देवतालाई ल्याउन तन्त्रोक्त साधाना गरी अतुलनीय योगदान पु¥याउनुहुने मध्ये एक आचार्य बन्धुदत्तलाई बज्राचार्यको पञ्चबुद्ध अङ्कीत मुकुट पहि¥याइदिएको प्रतिमा निर्माणपछि विवादले उग्र रुप लिएको हो ।
निर्माणाधिन मुर्ती माथि प्रतिकृया दिदै मान्छेहरु विचार पोख्छन्, काठमाडौँ महानगरपालिकाले वडा–२२ न्युरोडस्थित भुगोलपार्कमा राखिने भनिएको आचार्य बन्धुदत्तलाई विना प्रमाण खाइलाग्दो मोटो कदको पञ्चबुद्ध मुकुटसहित बज्राचार्य भनि अपव्याख्या गर्नुहुँदैन थियो । मूर्तिकारले मूर्ति निर्माण गर्दा विज्ञहरुको सल्लाह, प्राचिन ग्रन्थ पुरातात्विक बास्तुकलाहरुको अध्ययन नगरी भएको निर्माणले विवाद निम्त्याएको हो । हुन पनि मूर्तिकारले मूर्ति बनाउँदा प्राचिन पुरातात्विक वास्तुकलाहरुको अध्ययन अनुसन्धान गरी तथ्यले भनेका आधारमा बनाउनुपर्दछ । आचार्य वन्धुदत्तको नाउँमा बज्राचार्य राख्दा प्राचिन अभिलेखहरुको लिद्यसाँ लिइनुपर्दछ । प्राचिन तथ्यहरु खोज्दै जाने हो भने नेपालको सबैभन्दा पहिलो ६५० वर्ष अघिको गोपालराज वंशावलीमा उल्लेखित आचार्य बन्धुदत्त, राजा नरेन्द्रदेव र रथचक्र –तण्डुकार (ज्यापु) नै हो ।
त्यसैगरी सर्व प्राचिन मुर्तीको नमुना पाटन तः बहालस्थित मच्छेन्द्रनाथ मन्दिरको राजा नरेन्द्रदेव आचार्य बन्धुदत्त र रथचक्र ललित ज्यापुको संयुक्त मुर्तिको आधार लिइनुपर्दछ । जुन पुरातात्विक मुर्तिमा श्रीपेचसहितको राजा नरेन्द्रदेव परम्परागत पोसाक, दौरा सुरुवाल पटुकीमा रथचक्र ज्यापु र आचार्य बन्धुदत्तको हातमा नागपास समाएका छन् भने भूगोलपार्कमा स्थापनार्थ निर्मित वन्धुदत्त आचार्यको शिरमा पञ्चबुद्धको मुकुट पहि¥याईएको छ । नाउँ बन्धुदत्त बज्राचार्यको प्रस्तुत गरिएको छ जुन हुनुहुँदैन भन्ने नै मुल विवाद हो । कामरुप कामाक्षा आसामबाट रातोमच्छिन्द्रनाथ लोकेश्वर ल्याउँदा रथचक्र ज्यापुले नाथको प्राण वायु हँश भमराको रुपमा कलशमा राखी ल्याइएको उल्लेख छ तर मुर्तिकारले ललितपुरका ज्यापुलाई खेतमा जान लागेको ज्यापुको प्रतिक खर्पन बोकाएर हदैसम्मको हास्यास्पद कलाकारिता देखाएका छन् । जुन तथ्य शास्त्र सम्वत भएन भन्न सकिन्छ । मूर्ति विवादसँगसँगै उठेको अर्को विवाद आचार्य वन्धुदत्त शैव कि बौद्ध भन्ने पनि हो ।
लिच्छवीकालिन राज्य नेपालमा बन्धुदत्त नाउँका दुई जना पात्र जो कामरुप कामक्षासँग आख्यान जोडिएका छन् । एक पशुपतीका अष्टमातृका पिठमध्ये एक भुवनेश्वरीका पुजारी मृत्युन्जय कर्माचार्यका वंशज र अर्का तेवहाल निवासी बज्राचार्यका वंशज हुन् ।
कर्माचार्य वंशजका आधारित वन्धुदत्तसँग सम्वन्धीत आख्यान
दिनुहँ जसो आचार्य वन्धुदत्त भूवनेश्वरी पिठको पूजा गर्न जाँदा छोरा पनि पछि पछि लागेको थाहै पाएनछन् । तर पूजा पश्चात देवीले तिम्रो पछाडी आइरहेको वली देउ भनि वाचा गराएछन् । वन्धुदत्तले पनि पछाडी हेर्दै नहेरी वाचा स्वीकारेछन् । पछाडी हेर्दा त आफ्नै छोरो देखेर असमन्जस्यमा परेका वन्धुदत्तलाई देवीले नै सम्झाउदै भनेछन् । कि तिमीले अप्ठ्यारो मान्नुपर्दैन , वली दिएका छोराको लासमा कामरुपकामाक्षा आसामबाट ल्याइएको अमृतजल छर्किएमा तिम्रो छोराले पुनर्जीवन पाउनेछ । देवीको यहि सन्देश अनुरुप वन्धुदत्त आचाजुले छोराको लासलाई गोप्य आगम कोठामा थुनी आफु जल लिन आसाम पुगे ।
छोरासहित एकाएक वन्धुदत्त गायव भएपछि सधैं पुज्ने आगम देवताको कोठा खोलेर हेर्दा छोराको लास देखेपछि वन्धुदत्त छोराको हत्या गरी भागेको लख काटी काठमाडौँ वासी माइतीखलक बोालाएर सदगत गरिदिएछन् । वन्धुदत्त आचाजु अमृतजल लिएर फर्कदै गर्दा हालको वानेश्वर भनिने छक्कुवक्कु पुग्दा काठमाडौँबासी ससुराली खलकले छोराको सदगत गरेर फर्किरहेको बताएछन् ।
यस्तो अकल्पनीय खबरले वन्धुदत्त आचाजु सोही स्थानमा ढलेछन् । र त्यस स्थानमै वन्धुदत्तलाई सिद्धि प्राप्त भएको कथन छ ।
वन्धुदत्तलाई रिङ्गटा लागेर ढलेको ठाउँलाई देवपत्तन वासिहरुले छक्कुवक्कु भन,े भने सिद्ध भएको पिठलाई छक्कुबक्कु अजिमाँ भन्ने गरेको आख्यान छ ।
वन्धुदत्तका आधारमा प्रत्येक वर्ष भाद्र शुक्ल भलमल अष्टमीका बेला त्रिशुलजात्रा हुँदा काठमाडौंबासी माइती खलकलाई आमाचकारी गाली गर्दै जात्रा गरिन्छ । मच्छिन्द्रनाथसँग कुनै सम्वन्ध छैन । तर पाटनमा हुने मच्छिन्द्रनाथको रथारोहण अघि पशुपति जय वागेश्वरी मन्दिर अगाडिको मच्छिन्द्र गणेशको सर्वप्रथम पूजा गर्ने परम्परा भने छ ।
बज्राचार्य वंशजसँग जोडिएको वन्धुदत्त आख्यान
कामरुपकामाक्षाबाट बुङद्यो रातोमच्छिन्द्रनाथ नेपाल ल्याई प्रतिष्ठानपनपछि आचार्य वन्धुदत्त नाथको दायाँ गोडामा समाधिलिन भए ।
वन्धुदत्तको देहान्तपछि उहाँका तीन छोरीहरुमध्ये भक्तपुरकी छोरीले निःबहालको जग्गा जमिन, काठमाडौँकीले टेबहालसहितको घर सम्पती र ललितपुर भिन्छे वहालकीले आचार्य मुकुट आगम देवता र दुर्लभ शास्त्रहरु अंशमा लिए ।
दुर्लभ शास्त्र लिएका प्रमाण स्वरुप मयुरवर्ण महाविहार भिन्छे बहाःकी छोरी वंशजले आज पनि रातो मच्छिन्द्र नाथको दायाँ पाउमा पिता बन्धुदत्तको नाउँमा पिण्डपात्र चढाउने परम्परा कायमै छ ।
यि दुई आख्यानलाई विवेचना गर्दा एक मात्र छोराका पिता देवपत्तन भूवनेश्वरी निवासी कर्माचार्य वन्धुदत्त र तीन छोरीकी पिता बज्राचार्य वन्धुदत्त एकै हुन् होइनन् भन्ने तथ्य आजसम्म प्रमाणित हुन सकेको छैन । बज्राचार्य मूल रुपममा जात होइन । जुनसुकै जात, धर्म सम्प्रदायले पनि बज्राभिषेक, घण्टाभिषेकसहितको देखाः प्राप्त गरेकालाई बज्राचार्य भन्न सकिन्छ । कुन चाहि बन्धुदत्तले कहिले देखा लिए भन्ने पनि स्पष्ट छैन भने नेवार समुदायले बज्राचार्यलाई गुभाजु भनि संवोधन गर्दछन् आचाजु वा आचार्य होईन । ल एक हदबाट बन्धुदत्त बज्राचार्य नै भएपनि सर्वजातिय, सर्वधर्मिय, सर्व लिंगिय समुदायको प्रतिक रातो मच्छिन्द्र नाथका पुजारीलाई एकै मात्र सम्प्रदायमा केन्द्रित गर्न नहुने अभियानकर्ताहरुको आग्रह देखिन्छ । जुन सत्य र तथ्यमा आधारित मान्न सकिन्छ ।

Loading...