हिमपातपछि हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता

हुम्ला । नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो ।

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएको हो ।

तापक्रम माइनसमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

हिल्सा प्रहरी चौकीका प्रहरी निरीक्षक जङ्गबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मङ्गलबार सदरमुकाम सिमकोट सारिएको हो ।

यसअघि सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भइसकेको थियो भने हिल्सा नाकामा खटिएको प्रहरी चौकी मङ्गलबार सीमा छोडेर जिल्ला सदरमुकाम सिमकोट पुगेको छ ।

चिसोका कारण सदरमुकाम सिमकोट आइपुगेका प्रहरीचौकी जेठ महिनामा फिर्ता हुनेभएका छन् ।

यस्तै चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) टोली चिसो बढे पनि सीमा सुरक्षामै खटिने भएको छ ।

सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सदरमुकाम सिमकोट सारिए पनि सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेका २२ जना उतै बस्ने भएका हुन् ।

Loading...