अर्को बैठक तय गर्दै नेकपा सचिवालय बैठक सकियो, अब अध्यक्ष ओलीले पनि छुट्टै प्रस्ताव ल्याउने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बुधवार बसेको बैठक अर्को बैठकको मिति तय गरेर सकिएको छ । पार्टीका प्रथम अध्यक्ष केपी ओलीले बैठक रोक्ने अनेक प्रयत्न गरे पनि नसकेपछि अन्ततः बुधवार उनी सचिवालयको बैठकमा सहभागी भएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको सचिवालयको बैठकले स्थायी कमिटी र केन्द्रीय समिति बैठकको मिति समेत तय गरेको छ । आजको बैठकले १० दिनपछि अर्थात् मंसिर १३ मा फेरि सचिवालय बैठक बस्ने तय गरेको छ । त्यसैगरी मंसिर १८ गते स्थायी कमिटी र मंसिर २५ गते केन्द्रीय कमिटीको बैठक बस्ने मिति पनि तय गरेको छ । यसअघि केन्द्रीय समितिको बैठक मंसिर १५ गतेका लागि बोलाइएको थियो

प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकअघि १३ गते बस्ने सचिवालय बैठकमा छलफल हुने जानकारी दिए । १३ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पनि छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने बताइएको छ । प्रवक्ता श्रेष्ठले ओलीले पेश गर्ने प्रस्तावबारे आजको सचिवालयको बैठकमा सामान्य छलफल भएको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक संकटलाई निवारण गर्ने उद्देश्यले सचिवालय बैठक बसेको बताए । बालुवाटारमा सञ्चारकर्मीसँग सम्क्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीमा प्रस्तुत भएका सबै प्रस्तावमाथि छलफल गरी उचित निकास निकालिने बताए ।

बुधवार बसेको बैठकमा सचिवालय बैठक माग गर्दै पाँच नेताले लेखेको २ पन्ने पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पन्ने पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पन्ने पत्र र अन्तर पार्टी निर्देशन (अपानि) समेत वितरण भएको थियो ।

यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ गते बसेको सचिवालय बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेस गरेका थिए । अध्यक्ष प्रचण्डको प्रस्ताव आएपछि अर्का अध्यक्ष ओलीले त्यसमाथि आपत्ती जनाउँदै बुधवार बोलाइएको बैठक रोक्ने प्रयत्न गरेका थिए । तर, त्यसका बाबजुत बैठक अन्ततः बसेको हो ।

आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि ओली बाबमा परेका ओलीले सचिवालय बैठक सार्न खोजेका थिए ।

तर, पार्टी फुट नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कार्यकारी अध्यक्ष दाहाललाई मिलेर अघि बढ्न सुझाव दिएकी थिइन् ।

नेकपा विवाद बढेपछि चिनियाँ पक्षले पनि त्यसको व्यवस्थापनमा सक्रियता देखाएको छ । चिनियाँ राजदूत होउ यान्छीले मंगलबार नै दुई घण्टा ओलीलाई भेटेकी थिइन् ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको थियो ।

बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।

Loading...