काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ को मृत्यु भएको छ ।
मृतकमध्ये पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा सबैभन्दा धेरै १ हजार ९४६ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ६७ हजार ४९३ पुगेको छ ।
संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो ।
विश्वभर एकै दिन ४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै ५१ प्रतिशत संक्रमित अर्थात् २ लाख २४ हजार १२२ जनामा संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३६ हजार ७०७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ६८ लाख नाघेको छ ।
संक्रमितमध्ये ३ करोड ३७ लाख ४८ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड १८ लाख ५० हजार ६०२ मध्ये १७ हजार २०५ को अवस्था गम्भीर छ । दोस्रो लहरको संक्रमण फैलने क्रम उच्च भएपछि युरोपेली मुलुकहरूमा कडिकडाउ गरिएको छ ।
कतिपय मुलुकहरूले निषेधाज्ञा गरेका छन् भने कयौँले लकडाउन गरेका छन् । अष्ट्रिया र पोर्चुगलमा निषेधाज्ञा गरिएको छ । अष्ट्रियामा राति ८ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालिन कर्फ्यूसमेत जारी गरिएको छ ।
पोर्चुगलमा अत्यावश्यक सेवा तथा कलेजहरू खुला रहेनछन् । अरू क्षेत्र भने बन्द रहने निर्णय गरिएको छ । अत्यावश्यक नपरी बाहिर हिँडडुल नगर्न आग्रह गरिएको छ फ्रान्समा शुक्रबारदेखि नै लकडाउन गरिएको छ । इटाली लगायतका मुलुकमा पनि आंशिक प्रतिबन्धहरू कायम भएका छन् ।
बेलायतले पनि लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्।