सबैभन्दा कम तापक्रम जुम्लामा, न्यूनतम तापक्रम १ डिग्रीभन्दा पनि तल

जुम्ला । यस वर्षको सबैभन्दा कम तापक्रम मापन गरिएको छ । देशभरमा सबैभन्दा कम तापक्रम जुम्लामा रेकर्ड भएको मौसमविदले जनाएका छन् ।

तापक्रम घटेसँगै चिसो बढिरहेको छ । केही दिनमा अझै तापक्रम घट्ने र चिसो बढ्ने मौसमविदले जनाएका छन् ।

जुम्लामा बिहीबार न्यूनतम तापक्रम १ डिग्रीभन्दा पनि तल अर्थात् ०.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाको रेकर्डले देखाएको छ। बुधबार त्यहाँको न्यूनतम तापक्रम १ डिग्री थियो।

आजको अपडेट भने पौने ९ बजे मात्र रेकर्ड गरिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘जुम्लाको तापक्रम आज माइनसमा झर्ने सम्भावना बलियो छ,’ उनले भनिन्।

यस्तै आज शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्रीमा झरेको छ। हिजो बिहीबार यहाँकाे न्यूनतम तापक्रम ११.४ डिग्री थियो। मौसमविद् मानन्धरका अनुसार आज बिहान ६ बजे गरिएको मापन हो यो। पुनः पौने ९ बजे अर्काे अपडेट लिइनेछ।

उनका अनुसार पहाडी भूभागमा आंशिक बदलीबाहेक यतिबेला देशभर मौसम सामान्यता सफा छ। काठमाडौं उपत्यकासहित बिहानैदेखि देशका अधिकांश क्षेत्रमा घाम लागेको छ।

‘केही दिनलाई कतै पनि पानी पर्ने सम्भावना देखिएको छैन,’ शुक्रबार बिहान मौसमविद् मानन्धरले नेपालखबरसँग भनिन्।

Loading...