दशैँमा जो जहाँ छ त्यही बसी मनाउन गृहको अनुरोध

काठमाडौँ।  काठमाडौँ। गृह मन्त्रालयले कोभिड-१९ को संक्रमण नेपालमा तिव्ररूपमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौति थपिदै गएको बताएको छ । गृहले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै नजिकिदै गरेको महानचाड बडादशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्नजाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैं विदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपायहरू अवलम्बन गर्न र गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । कोभिड-१९ को संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा सावुन पानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्ने जस्ता क्रियाकलापलाईनै भरपर्दो उपाय मानिएको हुँदा कोभिड-१९ को संक्रमण बढ्ने गरी अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेलाजम्मा तथा भोजभतेर नगर्न, यस वर्षको चाड जो जहाँ छौं त्यहिं बसी मनाउन, स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्न/गराउन सम्पूर्ण दिदीवहिनी तथा दाजुभाई समक्ष गृह मन्त्रालय हार्दिक अनुरोध गरेको छ ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन गर्न नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन, सबै प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न, बजारमा आम नागरिकको अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउन, कालो वजारी, कृतिम अभाव, मिसावट, गुणस्तरहीन सामानको विक्री वितरण हुन र गर्न नदिनका लागि नियमित बजार अनुगमन गर्न तथा कानून विपरितका गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कानून बमोजिम कारबाही गर्न मातहत सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । मन्त्रालयबाट दिइएको निर्देशन कार्यान्वयनको लागि २४ सै घण्टा निरन्तर समन्वय तथा अनुगमन हुने व्यवस्था मिलाइएको छ ।
कोभिड-१९ संक्रमणको कारण सृजित बर्तमान विषम परिस्थितिमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न / गराउन र शान्ति सुव्यवस्था कायम गर्न/गराउन सदाझैं निरन्तर पृष्ठपोषण, सहयोग तथा समन्वयका लागि सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरू समक्ष गृह मन्त्रालयले हार्दिक अनुरोध गरेको छ ।

 

 

Loading...