कांग्रेस सांसदले प्रदेश ५ को प्रदेशसभामा गरे तोडफोड

बुटवल । दाङको भालुवाङमा स्थायी राजधानी राख्ने प्रस्तावको विरोधमा प्रदेश ५ को प्रदेशसभामा विपक्षी कांग्रेसले तोडफोड गरेको छ।

स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल सुरु भएसँगै विपक्षी दलका सांसदहरुले तोडफोड गरेका हुन्। लुम्बिनी नै स्थायी राजधानी हुुनुपर्ने माग राख्दै विपक्षी सांसदहरुले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल कुर्सी भाँचेका छन्।

यसअघि आजै कांग्रेसको विरोधका कारण बैठक रोकिएको थियो। दोस्रोपटक सुरु भएको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले छलफल गर्ने प्रस्ताव पेश गरेसँगै विपक्षीले नाराबाजी गरेका हुन्।

मर्यादा पालकले सांसदहरुलाई नियन्त्रण गर्न खोजे पनि सकेका छैनन्। प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सुरक्षाघेरामा बैठक चलाइ रहेका छन्।